महामारीमा समेत रोकिएन बेचबिखन, विश्वमा झन्डै दुई करोड ५० लाख मानिस बाध्यकारी श्रम गर्न बाध्य

काठमाडौँ- शनिबार मानव बेचबिखन तथा ओसारपसार विरुद्धको १४आँैं राष्ट्रिय दिवस मनाइँदैछ । कोरोना भाइरस (कोभिड–१९)को महामारीकै बीचमा पनि मानव बेचबिखन र ओसारपसार रोकिन नसकेका बेला दिवस मनाउन लागिएको छ । केही दिनअघि नेपाल–भारत सीमा क्षेत्रबाट २९ जना महिला तथा किशोरीको उद्धार गरियो । भारतबाट नेपालमा सामान लिएर आएका कन्टेनरले फर्कंदा दलालका सहायताले नेपालका महिला र बालबालिकालाई बेचबिखनका लागि त्यसतर्फ लगिएका घटना सार्वजनिक भइरहेका छन् ।

बन्दाबन्दीको समयमा एक पुरुष र दुई जना महिला बेचबिखनको आरोपमा पक्राउ परेका छन् । त्यस्तै यही बीचमा भारतको दिल्लीबाट छ र मनीपुरबाट २१ सहित २८ जना बेचबिखनमा परेका किशोरीसहितको उद्धार गरिएको नेपाल प्रहरीको मानव बेचबिखन ब्युरोका प्रमुख डा. देवबहादुर बोहराले जानकारी दिनुभयो । मानव बेचबिखनको क्रमलाई कोरोना महामारी र बन्दाबन्दीले रोक्न नसकेको उहाँ स्वीकार्नुुहुन्छ । पछिल्लो समय कामका लागि विदेश लगिएका महिलासमेत बेचबिखनमा पर्ने क्रम बढेको छ ।

राजनीतिक संरक्षण बाधक
चरिमाया तामाङ भारतमा बेचिएर पछि उद्धार हुनुभएपछि आफूजस्तै पीडितलाई न्याय दिलाउन सक्रिय हुनुहुन्छ । शुक्रबार पर्पल फाउन्डेसनले आयोजना गरेको भर्चुअल अन्तक्र्रियामा न्याय प्राप्तिमा राजनीतिक जवाफदेहिताको अभाव रहेको बताउनुुभयो । उहाँले मानव बेचबिखन र उद्धारपछि न्याय प्राप्तिको विषय अझै जटिल रहेको गुनासो गर्नुभयो ।

सांसद गगन थापाले मानव बेचबिखनको मुद्दामा बाहिरी सरोकारवालासँग बहस र छलफल भए पनि संसद्मा नभएको स्वीकार्नुुभयो । सांसद विद्या भट्टराईले सरोकारवालाले निरन्तर दबाब दिनुपर्नेमा जोड दिनुभयो । पर्पल फाउन्डेसनकी निलम शर्मा मानव तस्करी उल्मूूलन गर्न प्रभावकारी उपाय अपनाउनुु जरुरी रहेको बताउनुुहुन्छ ।

अन्तर्राष्ट्रिय श्रम सङ्गठनका अनुसार विश्वमा झन्डै दुई करोड ५० लाख मानिस बाध्यकारी श्रम गर्न बाध्य छन् । सन् २०२० को हालसम्म विश्वमा मानव बेचबिखनका एक लाख आठ हजार ६१३ घटना पहिचान भएका र त्यसमध्ये महिला बालबालिका बढी भएको जनाइएको छ ।
मानव अधिकार आयोगका अनुसार नेपालमा सन् २०१९ को एक तथ्य वयस्क मनोरञ्जन क्षेत्रका छ हजार आठ सय, वैदेशिक रोजगारीमा गएका १२ हजार, निकृष्ट बालश्रम गर्ने १२ हजार, हराएका र फेला नपरेका तीन हजार दुई सय गरी कुल ३५ हजार महिला र बालबालिका बेचबिखनमा परेका छन् ।-

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्