‘कोरोना सङ्क्रमितलाई माया गरौँ

काठमाडौँ-‘कोरोना कुनै पाप वा अभिशाप होइन । यो त विश्वमा महामारीका रूपमा फैलिएको रोग हो । कोरोना धनी वा गरिब जो कोहीलाई पनि हुन सक्छ । सङ्क्रमितलाई घृणा र दुर्व्यवहार होइन सक्दो सहयोग गरौँ ।’ काठमाडौँ उपत्यकाका स्थानीय तहका जनप्रतिनिधिले समुदायमा अहिले यस्तै अभियान चलाएका छन् । कोरोना सङ्क्रमित र स्वास्थ्यकर्मीलाई कोरोना सङ्क्रमित नभएका व्यक्तिले दुर्व्यवहार गर्न थालेपछि जनप्रतिनिधिकै अगुवाइमा समुदाय स्तरमा सचेतना कार्यक्रम अगाडि बढाइएको हो ।

काठमाडौँ उपत्यकामा कुल सङ्क्रमितमध्ये करिब ४५ प्रतिशत व्यक्ति घरमै एकान्तवास र समुदायको निगरानीमा एकान्तवास बसिरहेका छन् । कागेश्वरी मनोहरा नगरपालिका–१ का वडाध्यक्ष मुकुन्द गजुरेलले कोरोना सङ्क्रमितलाई दैनिक तीन पटक फोन गरेर उहाँहरूको समस्या बुझ्ने गरेको बताउनुभयो । उहाँले वडा भित्रका सबै सङ्क्रमितको आफूले अभिभावकत्व ग्रहण गरी आवश्यक सहयोग गरिरहेको छु, कोरोना लाग्दैमा आत्तिनुपर्दैन, घरमै सुरक्षित भएर बस्दा परिवारलाई कोरोना सर्दैन भन्नुभयो । उहाँले नागरिक सचेत भए कोरोनालाई जित्न सकिन्छ भन्ने अभियान नै चलाएको बताउनुभयो । काठमाडौँ महानगरपालिका–१४ का वडाध्यक्ष शोभा सापकोटाको भनाइमा कोरोनालाई जित्न समुदाय जागरण अभियान चलाइएको छ । समुदायमा क्रियाशील युवा समूह, नागरिक समाजका अगुवा, महिला समूह, महिला स्वास्थ्य स्वयंसेविका र आमा समूहलाई कोरोना सचेतना अभियानमा टोल–टोलमा परिचालन गर्नुभएको छ ।

सापकोटाले कोरोना भाइरस सङ्क्रमण हुनु कुनै पाप होइन, यो कोरोना धनी वा गरिब जो कोहीलाई पनि लाग्न सक्छ तर सङ्क्रमितलाई दुव्र्यवहार होइन आत्मबल बढाएर सहयोग गरौँ भन्नुभयो ।सापकोटा र गजुरेल जस्तै काठमाडौँ उपत्यका मात्र नभई देशै भरका स्थानीय तहका जनप्रतिनिधि अहिले कोरोना रोकथाम र नियन्त्रण कार्यमा अग्र भागमा खटिएर काम गरिरहेका छन् । काठमाडौँ उपत्यकामा एक साताभित्र सङ्क्रमितको सम्पर्कमा रहेका सबैको कन्ट्याक्ट टे«सिङ गर्नेगरी उपत्यका नगरपालिका फोरमले सबै नगरपालिकामा टोल टोलमा पुगी कन्ट्याक्ट ट्रेसिङ गर्ने काम गरिरहेको छ ।

उपत्यकामा कोरोना भाइरसका सङ्क्रमित बढ्दै गएपछि सङ्क्रमितको सम्पर्कमा आएका व्यक्तिको कन्ट्याक्ट ट्रेसिङ गर्न जनप्रतिनिधि, स्वास्थ्य टोली सहितका व्यक्ति घर–घरमा पुगेका हुन् । सङ्क्रमितको सम्पर्कमा आएका करिब ४५ हजार जनाको कन्ट्याक्ट ट्रेसिङ गर्नेगरी उपत्यकाका सबै नगरपालिकाले काम गरिरहेको उपत्यका नगरपालिका फोरमका सचिव एवं मध्यपुर ठिमी नगरपालिका प्रमुख मदनसुन्दर श्रेष्ठले जानकारी दिनुभयो । उहाँले कोरोनाप्रति आमनागरिकलाई सचेत बनाउँदै सङ्क्रमितको कन्ट्याक्ट टे«सिङ गरी सबैको पीसीआर गर्ने काम भइरहेको छ भन्नुभयो । उपत्यकाका सबै स्थानीय तहमा स्वास्थ्य शाखा र स्वास्थ्य मन्त्रालयका फोकल पर्सन सहितको टोलीले टोलटोलमा पुगी स्वाब सङ्कलन गर्ने कार्य धमाधम गरेको छ ।-गोरखापत्र अनलाइनबाट

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्