उपत्यका भित्र निजी बैंकहरुको सेवा बन्द

काठमाडौं – सिमित जनशक्तिबाट संचालन गर्ने निर्णय गरेका निजी बैंक तथा वित्तिय संस्थाहरुलै अहिले केहीबेर अघिदेखि सेवा बन्द गरेका छन ।

उपत्यकामा आजदेखि लागु गरिएको निषेधाज्ञासँगै विहानै बैंकका सिइओ र कर्मचारी सेवा प्रभाव गर्न जाँदा बाटोमा प्रहरीले अनावश्यक दुख दिएको र कतिपय बैकका सिइओलाई त घण्टौं घाममा उभ्याइएको भन्दै विरोधस्वरुप बैंकहरु बन्द गरिएका हुन् । नेपाल बैकर्स एशोसिएसनको निर्णय बमोजिम उपत्यका भित्रका सबै निजी बैंकहरु बन्द गरिएको जानकारी नबिल बैंकका सिइओ अनिल केशरी शाहले नेपाल टीभीअनलाइनलाई जानकारी दिनुभयो ।

विहान बैंक खोल्न जाने कर्मचारीहरुलाई प्रहरीले बैंकको परिचय पत्रबाट आतेजाते गर्न नपाउने भन्दै रोकेको थियो । यसरी प्रहरीले ठाउँ ठाउँमा दुख दिएपछि संघले राष्ट्र बैंकसँग पनि सहयोगको लागि अनुरोध गर्‍यो तर बैंकका कर्मचारीले दुख पाइरहे । त्यसैले संघले बैंकहरु आज बन्द गर्ने निर्णय गरिएको हो- शाहले भन्नुभयो ।

हिजो मात्र नेपाल बैंकर्स एशोसियशनले हरेक ‘क’ वर्गका बैंकहरुले उपत्यका भित्र काठमाडौंमा ५ वटा, ललितपुरमा २ वटा र भक्तपुरमा १ वटा शाखा संचालन गर्ने निर्णय गरेका थिए । तर ती शाखाहरुमा कर्मचारी पुग्न कठिन भएको र प्रहरी प्रशासनले सहयोग नगरेको भन्दै केहीबेर खुलेका बैंकहरु एकाएक बन्द भएका हुन । बैंक संचालनका अतिरिक्त नजिकैका एटीएम बुँथहरुमा पैसा राख्न समेत अब कठिनाइ भएको शाहले बताउनु भयो ।

सरकारले उपत्यकाभित्र अत्यावश्यक सेवा बाहेक अन्य काममा रोक लगाएपनि बैंक तथा वित्तीय संस्थाहरुको संचालन अत्यावश्यक सेवा अन्तर्गत पर्ने भएकोले आफूहरुले बैंक खोल्ने निर्णय गरेको तर निर्णय र कार्यन्वयनको पाटोमा गलत बुझाइ भएकोले असजिलो भएको सिइओ शाहको भनाइ छ । अहिले पनि राष्ट्रबैंक र सरकारी तहमा छलफल भैरहेको उहाँले जानकारी दिनुभयो । सरकारको निर्णय बमोजिम आफूहरु बैंक संचालन गर्न तयार भएको तर सरकारले वातावरण बनाउनुपर्ने उहाँको माग थियो ।- नेपाल टेलिभिजनबाट

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्