उपहार मिडियाको सल्लाहकारमा बरिष्ठ साहित्यकार दामोदर पुडासैनी “किशोर” नियुक्त

उपहार खबर – 

काठमाडौँ– उपहार मिडियाको सल्लाहकारमा बरिष्ठ साहित्यकार दामोदर पुडासैनी “किशोर”लाई नियुक्त गरिएको छ । उपहार मिडिया नेटवर्क प्रा.लि.को मंगलबार बसेको बैठकले पुडासैनीलाई सल्लाहकारमा नियुक्त गर्ने निर्णय गरेको हो ।
नेपाली साहित्य फाँटका चर्चित नियात्राकार तथा बरिष्ठ साहित्यकार पुडासैनी सञ्चार क्षेत्रको अनुभव बटुलेका विज्ञ व्यक्तिको रुपमा समेत चिनिनुहुन्छ ।

तारकेश्वर नगरपालिका काठमाडौ स्थित जीतपुर फेदीमा बि.सँ.२०१९ साल जेठ १८ गते पिता हरिप्रसाद पुडासैनी र माता तुलसीदेवीको कोखबाट पुडासैनीको जन्म भएको थियो । हाल टोखा नगरपालिकामा बसोबास गरिरहनुभएका पुडासैनीको श्रीमती पार्वती पुडासैनी, एक छोरा र एक छोरी छन् ।

स्थापनाकालदेखि उपहार मिडियाका सञ्चालक सदस्यहरुलाई उहाँले गर्नुभएको मार्गनिर्देश, सल्लाह, सुझाव प्रतिक्रियाको उच्च सम्मान गर्दै उहाँलाई सल्लाहकारमा नियुक्त गर्ने निर्णय गरेको हो । मिडिया सञ्चालन गर्न उहाँले दिनुभएको हौसलाले मिडियाले विभिन्न क्षेत्रमा काम गर्नुको साथै उपहार खबर डट कम अनलाइन पत्रिका समेत सञ्चालनमा आएको छ ।

उहाँको सल्लाह, सुझाव, मार्गनिर्देशन अनुसार उपहार मिडियाले निकट भविष्यमै टेलिभिजन प्रसारण समेत शुरू गर्न लागेको छ ।
लामो समयदेखि साहित्यविधामा कलम चलाउदै आउनुभएको पुडासैनी सञ्चार क्षेत्रमा समेत अग्र पंक्तिमा हुनुहुन्छ ।
बरिष्ठ साहित्यकार किशोरका आफन्तका अनुहारहरू, आकारको खोजीमा, आलोकित आयाम, आँखाको खोजीमा, समयको सहीछाप, पहाड र प्रेम उज्यालो खोजिरहेको घाम र सहर बिनाको सहर जस्ता कविता सँग्रहहरू चर्चित छन् ।

नेपाली नियात्रा साहित्य लेखनमा पुडासैनीले बेग्लै शैली र धार ल्याउनु भएको छ । उहाका नियात्राहरू नेपालभित्र मात्र नभई नेपाल बाहिर पनि अत्यन्त चर्चित छन् । उहाँको यात्राका प्रेमिल तरँगहरू, मायालु हुम्ला, नमेटिएका चित्रहरू, सिमानाका रँग सिमानाका तरँग र पर्खाल भित्रको राजधानी जस्ता नियात्रा कृतिहरूले राष्ट्रिय र अन्तर्राष्ट्रिय जगतमा पनि थुप्रै पुरस्कार प्राप्त गरेका छन् । धर्मको ह्याँगओभर दर्शन कृतिमार्फत उहाँले समाजलाई फरक बाटो देखाउँनु भएको छ ।

पुडासैनीको नियात्रा सँग्रहले सन् २०१५ मा सँयुक्त राज्य अमेरिकाबाट अन्तर्राष्ट्रिय पुरस्कार प्राप्त गरेको थियो । साहित्यमा गरेको अतुलनीय योगदान स्वरूप बि. सं. २०७४ चैत्रमा लायन्स इन्टरनेशनलले दामोदर पुडासैनीलाई पोखरामा भव्य रथयात्रा समेत गरेको थियो । त्यसबाहेक पुडासैनीका कृतिहरूले उत्तम शान्ति पुरस्कार, ब्यथित काव्य पुरस्कार,शँकर लामिछाने युबा निबन्ध पुरस्कार, बिराटलक्ष्मी प्रतिभा पुरस्कार लगायत सयौँ राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पुरस्कार समेत प्राप्त गर्नुभएको छ ।

उहाँको कविता सँग्रह सहर बिनाको सहरले बि. सं. २०७५ मा प्रकाशित कृतिहरू मध्ये सर्बोत्कृष्ट कृतिको रूपमा एक लाख ११ हजार १ सय ११ रूपैयाँको सर्बोत्कृष्ट पुस्तक पुरस्कार प्राप्त गरेको थियो ।

पुडासैनीका कृतिहरूका बारेमा विश्वविद्यालयका डेढ दर्जन भन्दा बढी बिद्यार्थीहरूले शोधकार्य सपन्न गरि उच्च शिक्षाको डिग्री हासिल गरेका छन् । सल्लाहकार पुडासैनीले युरोप, अमेरिका एशिया र अफ्रिकाका पचास भन्दा बढी मुलुकहरूको भ्रमण गर्नुभएको छ भने नेपालको मनाङ बाहेक ७६ जिल्लाको भ्रमण गर्नुभएको अनुभव छ ।

काठमाडौँको पेप्सीकोलामा कार्यालय रहेको उपहार मिडियाले अनलाइन पत्रिका सञ्चालन गर्नुका साथै देशभरीका स्थानीय तह, संघ–संस्थाहरुको डकुमेन्ट्री निर्माण गरि टेलिभिजनबाट प्रशारण समेत गर्दै आइरहेको छ । पर्यटन क्षेत्र, सामाजिक क्षेत्र, भौतिक पूर्वाधार क्षेत्र र ओझेलमा परेका धार्मिक, पर्यटकीय, साँस्कृतिक क्षेत्रको उजागर गर्दै डकुमेन्ट्रीको माध्यमबाट जनतामाझ उक्त क्षेत्रको प्रचारप्रसारमा उपहार मिडियाले काम गर्दै आइरहेको छ । सत्य, तथ्यमा आधारित सकारात्मक सूचना प्रवाह गर्ने उद्देश्यले अनलाइन पत्रिका सञ्चालनमा ल्याइएको हो ।
सल्लाहकार दामोदर पुडासैनी किशोरसँग लामो समय नेपाल सरकारको उच्च तहमा रही कुशल कार्य सम्पादन गरेको अनुभव पनि छ । दामोदर पुडासैनी किशोर सल्लाहकार नियुक्त हुनुभएको खुशियालीमा उपहार मिडिया परिवारले आज एक भव्य स्वागत कार्यक्रमको आयोजना गरेको छ । उक्त कार्यक्रममा सल्लाहकार पुडासैनीले सहकार्यको माध्यमबाट अघि बढ्न र टेलिभिजन स्थापना गर्न थप हौसला प्रदान गर्नुभएको थियो ।

कार्यक्रममा उपहार मिडिया नेटवर्क प्रा.लि. का प्रबन्ध निर्देशक रामदत्त मिश्रले उपहार मिडियालाई आगामी दिनमा अगाडी बढाउन र स्तरीय बनाउन खेल्नुपर्ने भूमिका विषयमा छलफल गर्नुभएको थियो । टेलिभिजन स्थापना गर्ने योजना सहित मिडियाको बारेमा प्रष्ट पार्नुभएको थियो ।
उक्त स्वागत कार्यक्रममा उपहार मिडिया नेटवर्क प्रा.लि. का कार्यकारी निर्देशक डम्बर मिश्रले मिडिया स्थापनाकालदेखि हालसम्म गरेका क्रियाकलापको बारेमा विफ्रिङ गर्नुभएको थियो । यसैगरी अझै मिडियालाई स्तरीय ढंगले अघि बढाउन छलफलको माध्यमबाट अघि बढ्नुपर्ने प्रष्ट पार्नुभएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्