भारतीय महिलालाई रौतहट प्रवेशमा रोक लगाउँदा सशस्त्र प्रहरीमाथि आक्रमण, एक जना घाइते

भारतीय महिलालाई रौतहट प्रवेशमा रोक लगाउँदा सशस्त्र प्रहरीमाथि आक्रमण भएको छ । सीमानाका बन्द रहेको अवस्थामा नेपाल प्रवेश रोक लगाउदा आक्रमण भएको हो । आक्रमणबाट एकजना सशस्त्र प्रहरी घाइते भएका छन् भने सशस्त्र प्रहरीले हवाई फायर गर्दै एकजना भारतीय नागरिकलाई नियन्त्रणमा लिएको छ ।

शुक्रबार साँझ भारत बिहार पूर्वी चम्पारण घोडासहन थाना क्षेत्र अन्तरगत कोरैया गाउँकी २ महिला परोना नगरपालिका–८ नरकटिया सीमा हुँदै रौतहट प्रवेश गर्न खोज्दै थिए ।
नरकटिया नाकामा ड्युटीमा खटिएका बोर्डर आउट पोष्ट सरमुजवाका सशस्त्र प्रहरीका १५ जनाको टोलीले ती महिलाहरुलाई प्रवेशमा रोक लगाएका थिए ।
सो क्रममा भारतीय गाउँ कोरैया र खरसलवाका झन्डै २ सय मानिस एक्कासी आएर ‘यताको जग्गा हाम्रो हो, हामी आउजाउ गर्न पाउनुपर्छ भनी भनाभन गरिरहेका थिए ।

सोही क्रममा २ महिलामध्येकी एक भारत कबैया पञ्चायत वडा ६ की सिमदेवी कुश्वाहाले एक्कासी सशस्त्र प्रहरीमाथि हसिया प्रहार गरेके प्रहरीले जनाएको छ ।

हसिया प्रहारबाट सशस्त्र प्रहरी जवानको दाहिने हातमा घाउ लागेपछि आत्मरक्षाका लागि टोलीले एसएलआरबाट एक राउण्ड हवाई फायर गरेको सशस्त्रका एसपी रवीनराज कर्णजितले बताए ।

झडपको क्रममा भारतीय नागरिक ४५ वर्षीय रवीन्द्र कुश्वाहालाई सशस्त्र प्रहरीले नियन्त्रणमा लिएर राती ८ बजे प्रहरी चौकी नरकटियामा बुझाएको छ ।

घटनाको खबर पाएलगत्तै सशस्त्र प्रहरी ११ नम्बर गणका प्रमुख एसपी रवीनराज कर्णजितको कमान्डमा ५० जना सशस्त्र प्रहरी र इन्स्पेक्टर राकेश कुमार यादवको कमान्डमा ३५ जना नेपाल प्रहरीको टोली घटनास्थल पुगेको थियो ।

दुई पक्षीय छलफलपछि पक्राउ परेका भारतीय नागरिक कुश्वाहालाई राती १० बजे भारतीय सशस्त्र सीमा बल ७१ नम्बर बटालियनका इन्स्पेक्टर अजय कुमारको टोलीलाई जिम्मा लगाइएको एसपी कर्णजितले बताए ।

शनिबार सशस्त्र प्रहरी प्रदेश २ का प्रमुख डीआईजी कृष्णभक्त ब्रह्माचार्य समेतको टोलीले घटनास्थलको निरिक्षण गरेका छन् । हाल नरकटिया नाकाको अवस्था सामान्य रहेको सशस्त्र प्रहरीले जनाएको छ ।

राताेपाटी

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्