गाउँपालिकाका अध्यक्षमाथि खुकुरी प्रहार, टाउकोमा गहिरो चोट

मोरङ- मोरङको उत्तरी क्षेत्रमा पर्ने केराबारी गाउँपालिकाका अध्यक्ष रोहितबहादुर कार्कीमाथि शुक्रबार खुकुरी प्रहार भएको छ । गाउँपालिकाको पटके कर सम्बन्धी सामान्य विवाद हुँदा पहिलेदेखि नै पटके करको ठेक्का पाउँदै आएका भुवन ठकुरीले कार्यालय हाताभित्रै खुकुरी प्रहार गरेको प्रहरीले जनाएको छ ।

घाइते अध्यक्ष कार्कीलाई तत्कालै विराटनगरको नोबेल अस्पतालको आईसियु कक्षमा उपचारका लागि भर्ना गरिएको छ । प्रहरीका अनुसार कार्कीको टाउकोमा गहिरो चोट लागेको छ । खुकुरी प्रहार गर्ने ठकुरीलाई तत्कालै प्रहरीले पक्राउ गरेको केराबारीस्थित इलाका प्रहरी कार्यालयका सहायक निरीक्षक दिपक बरालले बताए ।

घटना विवरण अनुसार असार ३१ गते गत आर्थिक वर्षको पटके करको ठेक्काको म्याद सकिएपछि गाउँपालिका आफैले कर संकलन गर्न थालेपछि ठकुरीले उक्त ठेक्का आफूले नै पाउनु पर्ने भन्दै गाउँपालिका अध्यक्ष कार्कीलाई भेट्न पुगेका थिए । तर अध्यक्ष कार्की र ठकुरीबीच कुरा नमिलेपछि नजिकै उभिएका गार्डले कम्मरमा भिरेको खुकरी खोसेर एक्कासि प्रहार गरेका थिए । केराबारी–७ का वडाध्यक्ष मनोज खड्काले गाउँपालिका अध्यक्षमाथि खुकुरी प्रहार गर्नेलाई कारबाहीको तयारी भइरहेको बताए ।

कान्तिपुर

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्