कोरोनाका कारण दाजुभाइकाे मृत्यु

वीरगन्जको नारायणी अस्थायी कोरोना अस्पतालमा उपचारका क्रममा बुधबार रौतहटका ३६ वर्षीय युवकको मृत्यु भएको छ । उनका भाइको भारतको बैंग्लोरमा कोरोनाबाटै मृत्यु भएको थियो ।

बेंग्लोरमा सँगै बस्दै आएका भाइको मृत्यु भएपछि दाजु गत साता रौतहटको परोहा नगरपालिका–७ स्थित घर फर्किएका थिए । उनलाई नगरपालिकाको क्वारेन्टाइनमा राखिएको थियो । मेसु डा.मदनकुमार उपाध्यायका अनुसार त्यहाँ उनी बिरामी परेपछि सोमबार राति वीरगन्ज ल्याएर नारायणी अस्थायी कोरोना अस्पतालको आइसोलेसनमा राखिएको थियो । रुघाखोकी, ज्वरो र श्वासप्रश्वासमा समस्या भएपछि बुधबार बिहान उनलाई आईसीयूमा भर्ना गरिएको थियो ।

युवकको बुधबार दिउँसो मृत्यु भएको नारायणी अस्पतालका मेसु डा. उपाध्यायले बताए । परोह नगरपालिकाका स्वास्थ्य इन्चार्ज जलान्धर यादवका अनुसार बुधबार मृत्यु भएका कोरोना संक्रमितले आफू भारतको बेंगलुरुमा भाइसँगै बसेको र उनको मृत्यु भएपछि घर फर्किएको बताएका थिए । ‘कोरोना संक्रमित भाइको मृत्यु भएपछि उनी असार २४ मा रौतहट आएका थिए,’ यादवले भने, ‘नगरपालिकाले बनाएको क्वारेन्टाइनमा राखेका थियौं ।’

अस्पतालका संयोजक डा. उदयनारायण सिंहका अनुसार मृत्यु भएका संक्रमित युवकमा कोरोना संक्रमतिलाई देखिनेबाहेक अन्य रोग थिएन । ‘ती युवकमा कोरोना लक्षण मात्र थियो,’ उनले भने, ‘रुघाखोकी र श्वासप्रश्वासमा समस्या देखिएको थियो ।’ कान्तिपुर

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्