कोरोना जित्दै सुदूरपश्चिम, एक हजार ५१३ डिस्चार्ज, ६१ जना अस्पतालमा

सुदूरपश्चिम प्रदेशमा कोरोना सङ्क्रमितमध्ये एक हजार ५१३ जना सङ्क्रमणमुक्त भएर डिस्चार्ज भइसकेका छन् । प्रदेश सामाजिक विकास मन्त्रालयको स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्र कार्कीका अनुसार सोमबार एकैदिन ९६ जना कोरोना सङ्क्रमित डिस्चार्ज भएका छन् ।

कैलालीका १७ जना, बझाङका ५३ जना र अछाम जिल्लाबाट एकैदिन ९६ जना सङ्क्रमित डिस्चार्ज भएका हुन् । योसँगै प्रदेशमा कोरोना सङ्क्रमणमुक्त भएर डिस्चार्ज हुनेको सङ्ख्या एक हजार ५१३ पुगेको महाशाखा प्रमुख कार्कीले बताउनुभयो । उहाँकाअनुसार कञ्चनपुरमा ३७५ जना, डडेल्धुरामा २६७ जना, बैतडीमा २५२ जना, बैतडीमा २४२ जना र डोटीमा १५७ जना सङ्क्रमित डिस्चार्ज भएका छन् ।

यस्तै कैलालीका ११८, बझाङका ८७, दार्चुलाका १३ र बाजुराका दुई जना सङ्क्रमितलाई डिस्चार्ज गरिएको छ । डिस्चार्ज हुनेमध्ये बढीजसो कोरोना जितेर नै घर फर्किनुभएको हो । सङ्घीय स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार सुदूरपश्चिममा सङ्क्रमितको सङ्ख्या तीन हजार ९३६ पुगे पनि ६१ जनाको मात्रै अस्तालको आइसोलेसनमा उपचार भइरहेको छ । उहाँहरू सबैजसोको अवस्था सामान्य छ ।

सुदूरपश्चिममा सङ्क्रमण पुष्टि भएका आठ जनाको मृत्यु भएको भए पनि कोरोनाबाट मृत्यु भएका दुई जना मात्र रहेको प्रदेश मन्त्रालय अन्तर्गतको स्वास्थ्य महाशाखा प्रमुख कार्कीले बताउनुभयो । सङ्क्रमितमध्ये झण्डै दुई हजार चार सय होम आइसोलेसन र विभिन्न स्थानीय क्वारेन्टाइनमा रहेको बताइएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्