विदेशमा अलपत्र परेका नेपाली श्रमिकको सरकारी खर्चमै उद्धार गरिने

काठमाडाैँ – श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामेश्वरराय यादवले वैदेशिक रोजगारीको क्रममा विदेशमा अलपत्र परेका नेपाली श्रमिकको सरकारी खर्चमै छिट्टै उद्धार सुरु गरिने बतएको छ । मन्त्री यादवले वैदेशिक रोजगारीको क्रममा विदेशमा अलपत्र परेका नेपाली श्रमिकको उद्धार तथा फिर्ता ल्याउनुपर्नेसम्बन्धी निर्देशिका २०७७ मन्त्रिपरिषद्बाट स्वीकृति हुनासाथ ती श्रमिकको उद्धार सुरु गरिने बताए ।

अदालतको आदेशले पनि विदेशमा समस्यामा परेर टिकट काट्नै नसक्ने नागरिकलाई सरकारले उद्धार गर्ने भएकाले यसैलाई आधार बनाएर निर्देशिका बनाइएको छ ।
सर्वोच्च अदालतको आदेशपछि सरकारले उद्धारसम्बन्धी निर्देशिका बनाएर विदेशमा अप्ठ्यारोमा परेका नागरिकलाई सरकारी खर्चमै उद्धार गर्ने तयारी गरिरहेको छ । यसअघि कोरोनाका कारण विदेशमा समस्यामा परेका नेपाली स्वदेश फिर्ताको प्रक्रिया सुरु भएसँगै विभिन्न २३ हजार नेपाली नागरिक स्वदेश फर्किसकेको दाबी मन्त्रालयले गरेको छ ।
कुवेत सरकारले भने आममाफीमा सहभागी झन्डै तीन हजार नेपाली श्रमिकलाई निःशुल्क स्वदेश फर्काउने व्यवस्था गरेअनुरूप स्वदेश फर्किएका छन् ।
विदेशमा रोजगारी गुमाएर खानसमेत नपाई छट्पटाएका कैयौँ नेपाली खर्च गर्न नसकेर स्वदेश फर्किन सकेका छैनन् ।
सर्वोच्चको आदेश अनुसार कार्यान्वयनमा जान श्रम मन्त्रालयले निर्देशिका बनाएर अन्तिम स्वीकृतिका लागि मन्त्रिपरिषद्मा पेस गरेको छ । निर्देशिकामा विशेष गरी श्रम स्वीकृति लिएर गई हाल कोरोनाका कारणले समस्यामा पर्दा रोजगारदाताले स्वदेश फर्किने टिकटको व्यवस्था नगरेका कारणबाट विदेशमा अलपत्र परेका श्रमिकलाई कल्याणकारी कोषको रकम खर्च गरेर स्वदेश ल्याउन सकिने व्यवस्था गरिएको छ । यसैगरी निर्देशिकामा उद्धारसम्बन्धी मापदण्ड, प्राथमिकता फिर्तासम्बन्धी प्रक्रिया खर्च बजेट निकास गर्ने र दूतावासको भूमिकाबारे स्पष्ट पारिएको मन्त्रालयले जनाएको छ ।
निर्देशिकाले श्रम स्वीकृति लिएर गएकाले त्यहाँ काम गरेको अवधि, आयआर्जनको विवरण, कोरोनाका कारण रोजगार गुमेको हो वा होइन, सम्बन्धित रोजगारदाताबाट टिकट खर्च भएको वा नभएको कुरा वा कुनै अभियोग लागेर जेल परेर अथवा आममाफी पाएर डिर्पोटेसन सेन्टरमा बसिरहेको लगायतको स्पष्ट रूपमा निवेदकले निवेदनमा खुलाउनुपर्ने कुरा पनि उल्लेख गरिएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्