वन अनुगमन गर्न आएका सदस्यहरु गुण्डागर्दी शैलीमा प्रस्तुत भएको भन्दै सरकारको ध्यानाकर्षण

उपहार संवाददाता – सुदूरपश्चिमका कैलाली र कञ्चनपुर जिल्लामा भइरहेको बैज्ञानिक वन व्यवस्थापन अन्र्तगत सामुदायिक वनमा भइरहेको कटानको अनुगमन गर्न आएका सांसद लगायत अन्य सदस्यहरु एकपक्षिय रुपमा प्रस्तुत भएको भन्दै फरेष्ट टेक्निसियन्स एसोसिएसन अफ नेपाल र नेपाल वन प्राविधिक संघले आपत्ती जनाएको छ ।
केहि दिन अघि अनुगमनका क्रममा डोटीबाट निर्वाचित प्रतिनिधि सभा सदस्य एवं अनुगमन उप समितिका सदस्य समेत रहेका प्रेम आलेले कैलालीमा सामुदायिक वनमा अनुगमनका क्रममा गुण्डागर्दी रुपमा प्रस्तुत भएको र वनका अध्यक्षलाई धम्की दिने उद्देश्यले प्रस्तुत भएको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि पछिल्लो समय टिकाटिप्पणी हुन थालेको छ । उक्त भिडियोमा अध्यक्षलाई टाउको तल गर, म को हुँ, आफै जंगल फडानी गर्ने आफै ठुला कुरा गर्ने लगायतका शब्द प्रयोग गरिएको भन्दै पछिल्लो समय आलोचित हुन पुगेका छन् ।
विहिवार एक विज्ञप्ती सार्वजनिक गर्दै फरेष्ट टेक्निसियन्स एसोसिएसन अफ नेपालका अध्यक्ष गोविन्दराज पाण्डे र नेपाल वन प्राविधिक संघका अध्यक्ष कुमुद श्रेष्ठले प्रतिनिधि सभाको सार्वजनिक लेखा समिति र कृषि, सहकारी तथा प्राकृतिक श्रोत समितिले समेत छुट्टाछुट्टै ३÷३ सदस्यीय समिति बनाई जाँचबुझ गरिरहेकोमा लेखा समितिबाट तोकिएका जाँचबुझ समितिका माननीय सदस्यहरुले हालै कैलाली जिल्लाको वन क्षेत्रको निरिक्षण गर्ने क्रममा स्थानीय सामुदायिक वनका अध्यक्ष लगायत कार्यसमितका सदस्य, उपभोक्ताहरुलाई अमर्यादित शब्द प्रयोग गरि गाली गलौज गरेको भिडियो सार्वजनिक सञ्चार माध्यम एवं सामाजिक संजालमा प्रशस्तै रहेको उल्लेख गरेको छ ।

सार्वजनिक लेखा समितिले जाँचबुझमा खटाएका माननीय सदस्य निष्पक्ष तटस्थ भई स्थलगत भ्रमण गरी वास्तविकतामा आधारित भै सम्बन्धित समितिमा प्रतिवेदन पेश गर्नु पर्नेमा स्थानीय उपभोक्ता समितिका पदाधिकारी उपभोक्ता एवं वन कर्मचारीलाई सार्वजनिक सथलमा गाली बेइजती गरी वास्तविकतालाई प्रभाव पर्नेगरी एकपक्षीय रुपमा प्रस्तुत हुनु भएको भन्दै खेद प्रकट गरेको छ ।
यस्तै सांसद जस्तो गरिमामय पदमा रहेको व्यक्तिले गुण्डागर्दी शैलीका यस्ता अभिव्यक्तिबाट स्वयम नीज माननीय सदस्यको पदको मात्र अवमुुल्यन नभई समग्र संसद तथा देशका माननीय सदस्यहरुको गरिमामय पदको समेत अवमूल्यन हुन पुगेको उल्लेख गरेको छ ।

यसरी गुण्डागर्दी शैलीमा एकपक्षीय रुपमा आफ्ना् स्वार्थ जोडिएको विषयमा अग्रीम पूर्वानुमानको आधारमा पक्षपाती धारणा बनाई गाली गलौज गर्ने माननीय सदस्यबाट निष्पक्ष, सत्य तथ्यमा आधारित जाँचबुझ प्रतिवेदन आउछ भन्ने कुरामा विश्वस्त हुन नसक्ने अवस्था रहेको उल्लेख गरिएको छ । तसर्थ निजलाई हदैसम्मको कारवाही गरि नीजको सट्टामा अर्काे निष्पक्ष सदस्य तोकी पठाउन जोडदार माग गरेको छ । साथै जाँचबुझ कार्यमा खटिने मानीय सदस्यहरु सम्बन्धित बिषयमा निजहरुको व्यक्तिगत स्वार्थ नजोडिको, तटस्थ र निष्पक्ष हुनुपर्ने व्यहोरा लेखा समिति र कृषि सहकारी तथा प्राकृतिक श्रोत समितिका सभापतिको पनि ध्यानाकर्षण गराइएको छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्