क्रिकेटर सन्दीपले सीपीएल जमैका तलावाजबाट खेल्ने, १ लाख ३० हजार अमेरिकी डलरमा सम्झौता

सन्दीप लामिछानेले क्यारेबियन प्रिमियर लिग(सीपीएल) को यो सिजन जमैका तलावाजबाट खेल्ने भएका छन् । सोमबार जमैका तलावाजले सन्दीपलाई दोस्रो राउन्डमा छनोट गरेको हो ।

सन्दीपले सीपीएलका लागि आफ्नो मूल्य ९० हजार अमेरिकी डलर(करिब एक करोड ८ लाख नेपाली रुपैयाँ) तोकेका थिए । ईएसपीएन क्रिक इन्फोका अनुसार सन्दीपसँग जमैका तलावाजले करिब एक लाख ३० हजार अमेरिकी डलरमा सम्झौता गरेको छ । सन्दीपसँगै अफगानी अलराउन्डर मोहम्मद नाबी र अस्ट्रेलियन ब्याट्सम्यान बेन डंक पनि सोही मूल्यमा अनुबन्धित भएको ईएसपीएनले उल्लेख गरेको छ ।

सीपीएलमा सन्दीप अनुबन्धित भएको यो तेस्रो पटक हो । यसअघि सन्दीपले सेन्ट किट्स एन्ड नाभिस प्याट्रियट्स र बार्बाडोस ट्राइडेन्सबाट सीपीएलमा आफ्नो प्रदर्शन देखाइसकेका छन् । गत वर्ष सन्दीपले राष्ट्रिय टिमबाट खेल्नुपर्ने भएकाले बीचमै सीपीएल छोडेका थिए । सीपीएलको पहिलो संस्करणमा सन्दीप ५ हजार अमेरिकी डलर तथा दोस्रो संस्करणमा ७० हजार अमेरिकी डलरमा अनुबन्धित भएका थिए ।

सन्दीप आबद्ध जमैका तलावाजमा आन्द्रे रसेल, कार्लोस ब्रेथ्वेट, ओशाने थोमस, ग्लेन फिलिप्सलगायतका चर्चित खेलाडी रहेका छन् ।

यस सिजनको सीपीएल ट्रिनिडाड एन्ड टोबागोमा आउँदो अगस्ट १८ देखि सेप्टेम्बर १० सम्म आयोजना हुने तय भएको छ । कोरोना महामारीका कारण यो सिजनको सीपीएल बन्द रंगशालामा आयोजना हुने बताइएको छ । कान्तिपुर

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्