बैतडीको पञ्चेश्वरमा बीओपी स्थापना, अध्यक्ष भन्छन् ‘नेपाली भएको अनुभुति भयो’

बैतडी – पञ्चेश्वरमा नेपाल सशस्त्र प्रहरी बलको सीमा सुरक्षा पोष्ट (बीओपी) स्थापना भएको छ । बीओपी स्थापना भएपछि स्वराडबासीले खुसी व्यक्त गरेका छन् ।
मङ्गलबार पञ्चेश्वरको रोलघाटमा एक प्लाटुन नेपाल सशस्त्र प्रहरीको टुकडी रहने गरी सीमा सुरक्षा पोष्ट उद्घाटन भएको छ ।

सशस्त्र प्रहरी बलका सुदूरपश्चिम प्रदेश प्रमुख डिआईजी हरिशंङ्कर बुढाथोकी र सशस्त्र प्रहरीका बैतडी प्रमुख अमित सिंहले सीमा सुरक्षा पोष्टको उद्घाटन गरेका हुन् । बीओपी स्थापना भएपछि पञ्चेश्वर गाउँपालिकाका अध्यक्ष गोरखबहादुर चन्दले नेपाली टोपी लुकाएर हिँड्नुपर्ने बाध्यता अन्त्य भएको बताए ।

अध्यक्ष चन्दले भने, “दिनभरि कक्षाकोठामा राष्ट्रियताको पाठ पढाएर बेलुकी नेपाली टोपी लुकाएर हिँड्नुपर्ने बाध्यता थियो । आफ्नै जिल्ला सदरमुकाम जान भारतीय बाटो प्रयोग गर्नुपर्ने पीडा थियो । राज्यको उपस्थिति बढेपछि स्वराडमा अहिले सडक पुगेको छ । सुरक्षाका लागि सशस्त्र प्रहरी पनि आयो । चुनाव जितेर गाउँपालिका अध्यक्ष भए पनि मलाई बल्ल नेपाली भएको अनुभूति अहिले भएको छ ।”

यसअघि गत महिना बैतडीको झुलाघाटमा सीमा सुरक्षा पोष्ट स्थापना भइसकेको छ । झुलाघाटपछि पञ्चेश्वरमा सशस्त्रको सीमा सुरक्षा पोष्ट स्थापना भएको हो ।

बैतडीको शेरादेखि पञ्चेश्वरसम्म ६५ किलोमिटर क्षेत्रमा सशस्त्र प्रहरी बलका झुलाघाट र पञ्चेश्वर सीमा सुरक्षा पोष्टले नियमित गस्ती गर्ने बताइएको छ ।

भारततर्फ एसएसबीका १७ वटा सुरक्षा पोष्ट रहेका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्