हेलिकप्टरबाट उद्दार गरिएकी गर्भवती महिलाले आन्द्राको शल्यक्रियासँगै कोरोना जितिन्

हेलिकप्टरबाट उद्दार गरेर नेपालगञ्ज लिइएकी कोरोना सङ्क्रमित चौरपाटी गाउँपालिकाकी एक गर्भवती महिलाले आन्द्राको शल्यक्रियासँगै कोरोना जितेकी छन् । आन्द्रा थुनिएपछि जेठ २६ गते कोहलपुर मेडिकल पु¥याएपछि चौरपाटी गाउँपालिका–५ की २५ वर्षीया गर्भवती महिलामा कोरोना पुष्टि भएको थियो ।

कोरोना भएपछिको दुईटा परीक्षणमा सङ्क्रमण नदेखिएपछि सोही अस्पतालको सामान्य वार्डमा सारिएको बताइएको छ । “कोरोना खतम भयो भनेर नर्मल वार्डमा सारिसक्यो, आन्द्राको उपचार हुँदैछ ।” अस्पतालमै रहेका महिलाका पतिले भन्नुभयो । अप्रेशनको सफलतासँगै दोश्रो पटक कोरोना नभएको रिपोर्ट आएपछि परिवार खुसी भएको खड्काको भनाइ छ । कोरोना पुष्टि भएकै दिन कोहलपुर मेडिकल कलेज सिल गरेर जेठ २६ गते ती गर्भवती महिलाको शल्यक्रिया गरिएको थियो ।

भारतबाट आएर जेठ १६ गतेदेखि वडामा रहेको क्वारेन्टाइनमा पतिसँगै ती महिला क्वारेन्टाइनमा बस्दै आएकी थिइन् । क्वारेन्टाइनमै रहेको बेलामा पेटमा समस्या आएपछि आठ महिनाकी गर्भवती वयालपाटा अस्पताल ल्याइएको थियो । वयालपाटा अस्पतालका चिकित्सकले पेटमा रहेको आन्द्रा थुनिएको भन्दै थप उपचारका लागि सुविधायुक्त अस्पतालमा रिफर गरेका थिए । गर्भवती महिलाको उद्धारमा सरकारद्धारा परिचालन गरिएको हेलिकप्टरबाट निःशुल्क रुपमा उनलाई नेपालगञ्ज पु¥याइएको थियो ।

बन्दाबन्दी (लकडाउन) को अवधिमा हालसम्म अछाममा चार जना महिला तथा गर्भवतीको निःशुल्क हवाइ उद्दार गरिएको छ । यसअघि तुर्माखाँद गाउँपालिकाबाट दुई र चौरपाटी र रामारोशन गाउँपालिकाका एक/एक महिलाको हवाइ उद्दार गरिएको छ । हेलिकप्टरबाट उद्दार गरिएकी रामारोशन गाउँपालिकाकी सुत्केरीको भने कोहलपुरमा उपचारकै क्रममा मृत्यु भएको थियो ।
अछाममा कोरोना सङ्क्रमण पुष्टि भएका हालसम्म १३ जना कोरोना जितेर घर फर्किसकेका छन् ।

हालसम्म एकसय १४ जनामा कोरोना पुष्टि भइसकेको छ । कोरोना सङ्क्रमणको आशंकामा संकलन गरिएका १३ सय ६१ जनाको स्वाबका नमूना परीक्षण हुन बाँकी रहेको स्वास्थ्य कार्यालय अछामको भनाइ छ ।

गाेरखापत्र अनलाइन

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्