राष्ट्रिय भिटामिन ए कार्यक्रम असार २२ र २३ गते फेरि सञ्चालन हुने

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले राष्ट्रिय भिटामिन ए कार्यक्रम फेरि सञ्चालन गर्ने भएको छ । कोभिड–१९ को कारण स्थगित भिटामिन ए खुवाउने कार्यक्रम आउँदो असार २२ र २३ गते फेरि सञ्चालन हुने स्वास्थ्य सेवा विभागका पोषण शाखा प्रमुख केदार पराजुलीले जानकारी दिनुभयो ।

गएको वैशाख ६ र ७ गते तय गरिएको भिटामिन ए खुवाउने कार्यक्रम लकडाउनको कारण स्थगित गरिएको थियो । राष्ट्रिय भिटामिन ए कार्यक्रमसँगै जुकाको औषधि र बालभिटा पनि खुवाउने गरिन्छ । सरकारले हरेक वर्ष पहिलो चरणमा कात्तिक २ र ३ गते तथा दोस्रो चरणमा वैशाख ६ र ७ गते गरी दुई पटक कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

६ महिनादेखि ५९ महिनासम्मका बालबालिकामा हुन सक्ने स्वास्थ्य जटिलता तथा कुपोषणको जोखिम न्यूनीकरण गर्न २०५३ सालबाट भिटामिन ए खुवाउन थालिएको हो । हरेक वर्ष भिटामिन ए खुवाउने कार्यक्रममा २७ लाख तीन हजार पाँच सय २२ बालबालिका सहभागी हुने गरेका छन् । बालबालिकालाई जुकाको औषधि र बालभिटासमेत खुवाउने गरिएको जनस्वास्थ्य निरीक्षक कल्पना पाण्डेले जानकारी दिनुभयो । जुकाको औषधि एक वर्षदेखि पाँच वर्षमुनिका २३ लाख ९३ हजार १ सय ५२ बालबालिकालाई खुवाउने गरिन्छ । जुकाको औषधि २०५८ सालदेखि हरेक वर्ष दुई पटक खुवाउने गरिएको छ ।

यस्तै पोषण तत्वले बनेको बालभिटा ६ महिनादेखि २३ महिनाका बालबालिकालाई खुवाउने गरिन्छ । बालभिटा २०६६ सालदेखि खुवाउन थालिएको हो । अहिले ४१ जिल्लाका बालबालिकालाई खुवाउने गरिन्छ । राष्ट्रिय भिटामिन ए कार्यक्रममा देशभरिका ५२ हजार स्वास्थ्य स्वयंसेविकाले बालबालिकालाई खुवाउने गर्छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्