मनसुन सक्रिय भएसँगै बाढीको खतरा बढ्यो

FILE PHOTO

काठमाडौँ – बुधबार रातिदेखि नेपाल–भारत सीमा क्षेत्रका विभिन्न स्थानमा निरन्तर वर्षा भइरहेकाले त्यस क्षेत्रमा बाढी र डुबानको खतरा बढ्दै गएको छ ।

अब लगातार तीन दिनसम्म ती क्षेत्रसहित नेपालका विभिन्न भूभागमा निरन्तर वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार हाल मनसुन सक्रिय भएकाले देशभर बदली भई वर्षा हुने क्रम जारी छ । बीच–बीचमा रोकिए पनि वर्षा जारी रहने छ । सुदूरपश्चिममा तुलनात्मक रूपमा कम वर्षा भए पनि गण्डकी, बाग्मती प्रदेश, प्रदेश १ र २ का विभिन्न क्षेत्रमा तीन दिन भारी वर्षा हुनसक्छ । योसँगै तराईको चुरे क्षेत्रमा लगातार वर्षा भइरहेको मौसमविद् वरुण पौडेलले जानकारी दिए ।
यसरी पहाडी भेगसँगै तराई क्षेत्रमा निरन्तर वर्षा भइरहेकाले तराईका नेपाल–भारत सीमा क्षेत्रका नदीमा बहाव बढ्ने क्रममा रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।

बिहीबार प्रदेश २ को सप्तरी, सिराहा, धनुषाको धेरै स्थान, सर्लाही, रौतहट, महोत्तरी, बारा, पर्साको केही स्थान, प्रदेश १ को झापा, मोरङ, सुनसरी, उदयपुर, बाग्मती प्रदेशको चितवन, प्रदेश ५ को कपिलवस्तु, रुपन्देही, कपिलवस्तु, दाङ, बाँके, बर्दियाको भारतीय सीमा आसपास धेरै स्थानमा मध्यमदेखि भारी वर्षा मापन भएको महाशाखाले जनाएको छ । ती स्थानको भारतीय सीमा आसपास भई बहने स–साना नदीमा आकस्मिक बहावको उच्च सम्भावना दर्शाउँदै तटीय क्षेत्रमा सतर्कताका लागि अनुरोध गरिएको छ ।

मनसुनी विपत्तिले बर्सेनि तराईमा ठूलो जनधनको क्षति गर्दै आएको छ । ऊर्जा सिँचाइ तथा जलस्रोत तथा गृह मन्त्रालयको संयुक्त पहलमा बाढी र डुबानको विपत्तिबाट तराईमा जनधनको क्षति रोक्न पहल भइरहेको छ । मन्त्रालयको नेतृत्वमा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले तराईका नेपाल–भारत सीमा क्षेत्रको बाढी र डुबान नियन्त्रण गर्न योजना बनाएको छ ।
प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेलका अनुसार, जलस्रोत मन्त्रालयमार्फत भारतीय सीमा क्षेत्रसँग जोडिएका नेपालका तराईका जिल्ला बचाउन संयुक्त वार्ता र छलफल अगाडि बढाइएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्