बाँदर धपाउने यन्त्र बन्यो– ‘एक पटक पड्काए पछि बाँदर बसाई सर्छन्’, किसानलाई राहत

काठमाडौं – बाँदरले सबै किसानहरुलाई सताएको छ । पहाडका कतिपय ठाउँमा बादरकै डरले जमिन बाँझो समेत छन् । बाली लगाएपछि बाँदरले सखाप पार्ने भएपछि जमिन बाँझो छोड्ने प्रचलन बढेको हो । तर बाँदर धपाउने एक नयाँ प्रविधिको आविश्कार भएको छ ।
स्याङ्जाको भिरकोट नगरपालिका ७ का भविश्वर कोइरालाले लकडाउनको समयमा बाँदर धपाउने यन्त्र बनाएका छन् ।

उनले बनाएको उपकरण दुई हजारदेखि तीन हजार पाँच सय रुपैयाँसम्ममा किन्न पाइन्छ ।

यूपीभीसी पाइप र कार्बाइडको प्रयोगबाट बनाइएको यन्त्र एकपटक पड्काएपछि बाँदर नै सो क्षेत्रबाट बसाइँ सर्ने दाबी गरिएको छ । स्थानीय प्रशासनले समेत यो उपकरण प्रभावकारी देखिएको जनाएको छ ।

स्याङ्जाका विभिन्न स्थानीय तहमा उक्त यन्त्रको परीक्षण गरिएको थियो । परीक्षण सफल भएपछि नगरपालिका तथा जिल्ला प्रशासनले नै अभियानको रुपमा किसानलाई बाँदर धपाउने यन्त्र वितरण गर्न थालेका छन् । यन्त्रका आविष्कारक भविश्वर कोइरालाले अनुमति दिएपछि काठमाडौंमा रहेको महावीर पुनको आविष्कार केन्द्रले पनि उक्त यन्त्रको उत्पादन सुरु गरेको छ ।

आविष्कारक कोइरालाका अनुसार यन्त्रको प्रयोग गरेर धपाइएको बाँदर दोहोर्याएर सो क्षेत्रमा नआएको दाबी छ । यन्त्रको तौल एक किलो पनि नहुने र यसले कुनै खालको असुरक्षा ननिम्त्याउने पनि कोइरालाले दाबी गरेका छन् ।

कोइरालाका अनुसार २० वटा बन्दुक पड्काए जत्रो आवाज एउटै यन्त्रले निकाल्छ ।

बाँदर भगाउने यन्त्रले निकै राम्रो काम गरेको स्याङ्जाको पुतलीबजार नगरपालिकाकी मेयर सीमा कुमारी क्षत्रीले बताइन् । ‘बाँदर लाग्ने क्षेत्रमा उक्त यन्त्रको प्रयोगपछि बाँदरहरू बसाइँ सरेको र कृषकलाई राहत मिलेको पाइयो,’ उनले भनिन् । कृषकले वर्षौंदेखि बाँदरबाट खेपेको हैरानी तोड्न यन्त्रले काम गरेपछि नगरपालिकाले किनेर कृषकलाई बाँडेको पनि मेयर क्षत्रीले बताइन् ।

नगरले वन्यजन्तु व्यवस्थापन शीर्षकमा छुट्याएको बजेटमार्फत बाँदर धपाउने यन्त्र किनेर कृषकलाई बाँडेको मेयर क्षत्रीको भनाइ छ । जिल्लाको भिरकोट, वालिङलगायतका स्थानीय तहले पनि यन्त्र खरिद गरेर लगेको कोइरालाले बताए ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्