छिमेकी मुलुकहरुभन्दा नेपालमा पीसीआरको दायरा फराकिलो : स्वास्थ्यमन्त्री ढकाल

काठमाडौँ – स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालले कोभिड–१९ को पिसिआर परीक्षण गर्नेमा छिमेकी मुलुकमा नेपालको दायरा बढी नै रहेको बताएका छन् । आज राष्ट्रियसभाका सांसदले सोधेको प्रश्नको जवाफ दिँदै उनले प्रति १० लाखमा पाँच हजार १४६ जनामा परीक्षण गरिएको बताए ।

उनले भारत, पाकिस्तान, बङ्गलादेश, श्रीलङ्का र जापानजस्ता देशमा भन्दा नेपालमा परीक्षणको दायरा माथि रहेको बताए । उनका अनुसार १० लाखमा भारतले चार हजार ४११, पाकिस्तानमा चार हजार ३०८, श्रीलङ्का चार हजार २०४ र जापानमा दुई हजार ७२४ जनामा परीक्षण गरिएको छ ।

मन्त्री ढकालले यही असार १५ गतेदेखि सातवटै प्रदेशमा ठूलो मेसिन ल्याएर दैनिक १० हजार परीक्षण गर्ने तयारीसमेत भइरहेको जानकारी दिए । नेपालमा हाल २२ प्रयोगशालाबाट पिसिआर परीक्षण भइरहेको छ । अहिलेसम्म एक लाख ४९ हजार ७७२ परीक्षण गरिएको छ । आज मात्र छ हजार ३७ जनामा परीक्षण गरिएको उनले जानकारी दिए । मन्त्री ढकालले कोभिड–१९ का सङ्क्रमित सबैलाई परीक्षण गरिने भन्दै कुनै एक परिवारका सबैमा सङ्क्रमण भए सबैको परीक्षण गरिने बताउनुभयो । उहाँले स्वास्थ्य सामग्री खरिदमा कुनै अनियमिता नभएकोसमेत बताए ।

उनले कोभिड–१९ का लागि किनिएका स्वास्थ्य सामग्रीमा अनियमिता भए संसद्मा रहेको समिति, अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन गर्ने बताए । मन्त्री ढकालले हिमोफेलिया रोगको चार महिनाका लागि औषधि मौज्दात राखिएकोसमेत बताए । उनले लम्की चुहा नगरपालिका­१ मा रहेको क्वारेन्टिनमा एक महिलामाथि भएको बलात्कारको घटनामा संलग्नलाई हदैसम्मको कारवाहीसमेत हुने बताए ।

उनले कोभिड–१९ महामारीका रुपमा फैलिए अन्य मन्त्रालयबाट बजेट कटौती गरेर महामारी रोकथाम र नियन्त्रणमा खर्चिने बताए । सरकारले आगामी आर्थिक वर्षमा केन्द्रमा ३०० र सातवटै प्रदेशमा ५० श्ययाका सरुवा रोग अस्पताल बनाउने योजना रहेको उनको भनाइ थियो । रासस

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्