नेपालीको स्वदेश फिर्तीका लागि तय भएका उडान धमाधम रद्द हुँदै

काठमाण्डौ – सरकारले खाडी, मलेसिया लगायत विभिन्न देशमा समस्यामा परेका नेपालीको स्वदेश फिर्तीका लागि तय भएको उडान तालिका धमाधम रद्द हुन थालेका छन् । प्राविधिक कारण देखाउँदै सम्बन्धित देशमा रहेका नेपाली दूतावासले स्वदेश फिर्तीका लागि तय भएका उडानहरु रद्द गरेका हुन् ।

सरकारले तय गरेको कार्यतालिका अनुसार आज साउदी, कतार, यूएई, माल्दिभ्सबाट नेपाली फर्कन पर्ने हो, तर यी देशबाट हुने उडानहरु त्यहाँ रहेका नेपाली दूतावासले रद्द गरिसकेका छन् । खाडीका देश र माल्दिभ्सबाट फर्कने ६ वडा उडान अहिलेसम्म रद्द भएका छन् ।

कुन कुन देशबाट रद्द भए ?

साउदीको दमामबाट असार १ गते हुने भनिएको हिमालय एअरलान्सको उडान रद्द भएको छ । दूतावासले प्राविधिक कारणले यो उडान रद्द भएको जनाएको छ ।
यस्तै असार १ गते नै माल्दिभ्सबाट त्यहाँ समस्यामा परेका नेपालीको स्वदेश फिर्तीका लागि हुने निश्चित भएको उडान पनि रद्द भएको छ ।

यूएईबाट आज मंगलबार र पर्सि बिहीबारलाई तय भएको उडान पनि रद्द भएको छ । नेपाल एअरलाइन्सले त्यहाँ समस्यामा परेका नेपालीको स्वदेश फिर्तीका लागि तय भएको चार्टर्ड उडान प्राविधिक कारणले रद्द भएको यूएईमा रहेको नेपाली दूतावासले जनाएको छ ।

कतारको दोहाबाट आज मंगलबार हिमालय एअरलाइन्स र भोलि बुधबार हिमालय एअरलाइन्समार्फत हुने चार्टर्ड उडान रद्द भएको छ । कतारमा समस्यामा परेका नेपालीको स्वदेश फिर्तीका लागि तय भएको उडान प्राविधिक कारणले रद्द भएको कतारमा रहेको नेपाली दूतावासले जनाएको छ ।

अर्को उडान कहिले हुन्छ भन्ने टुंगो लागेको छैन । कतारबाट स्वदेश फर्कने नेपालीको संख्या ६ हजार ७७ छ । यो दूतावासको प्राथमिकतामा परेका नेपालीको सूची हो ।

यस्तै बहराइनबाट त्यहाँ समस्यामा परेका नेपालीको स्वदेश फिर्तीको लागि तय भएको असार ३ गतेको उडान पनि असार  असार ७ गते मात्रै हुने त्यहाँ रहको नेपाली दूतावासले जनाएको छ ।

साउदीको दमामबाट १८ जुन बिहीबार उडान हुने भनिएको छ । यो बाहेक अन्य उडान कहिले हुन्छ भनेर भनिएको छैन ।

अब कुन उडान कहिले हुन्छ ?

(खाडीका देश र मलेसियाको उडान तालिका)

कुवेतबाट प्राथमिकतामा परेका नेपालीलाई ल्याउनका लागि असार २, गते, ५ गते, ७ गते र १० गते हुने तय भएको थियो । तर कुवेतमा रहेको नेपाली दूतावासले यो तालिका अनुसार उडान हुने नहुने भन्नेबारे कुनै जानकारी दिएको छैन ।

असार २ गते, ३ गते, ६ गते र ८ गते कतारमा समस्यामा परेका नेपालीको स्वदेश फिर्तीका लागि उडान तालिका तय भएको थियो । तर प्राविधिक कारणले पहिलो उडान नै रद्द भएकाले अर्को उडान हुने नहुने दूतावासले खुलाएको छैन ।

यूएईमा समस्यामा परेका नेपालीको स्वदेश फिर्तीका लागि असार २ गते, ४ गते, ६ गते र असार ९ गते उडान तालिका तय भएको थियो । पहिलो दुई उडान रद्द भइसकेकाले पछिल्ला उडानहरुमा पनि असर पर्ने देखिन्छ । रद्द भएका उडान कहिले खुल्छ भनेर भनिएको छैन ।

सरकारले मलेसियामा समस्यामा परेका नेपालीको स्वदेश फिर्तीका लागि असार १ गते, ४ गते, असार ६ गते र ७ गते उडान तालिका तय गरेको थियो । तर सरकारको तालिका अनुसार असार १ गते उडान भएन । अब अर्को उडान असार ४ गते हुनेछ ।

साउदीमा समस्यामा परेका नेपालीलाई ल्याउन असार १ गते, ४ गते, ५ गते र १० गते उडान हुने तय भएको थियो । एक गतेको उडान ४ गतेलाई सारिएको छ । अर्को उडानबारे दूतावासले अहिले जानकारी दिएको छैन ।

ओमानमा समस्यामा परेका नेपाली १६६ जना नेपाली दूतावासको तालिका अनुसार नै हिजो फर्किएका छन् । दोस्रो उडान असार ४ गते हुने त्यहाँ रहेका नेपाली दूतावासले जनाएको छ ।

कहाँबाट आउन कति भाडा ?

नेपाल एअरलाइन्सको भाडादर

यूएईका तीन राज्य दुबई, सारजहा र आबुधाबीबाट फर्कनेका लागि ३९० डलर, मलेसियाका लागि ३७२ डलर साउदीको दमामको भाडा ४३०, रियादबाट नेपाल फर्कनेका लागि ४६५ र जेद्दाबाट स्वदेश फर्कनेले अब चार्टर्ड उडानको भाडा ५९० अमेरिकी डलर तिर्नपर्छ ।

ओमानको भाडा ३६८ मा तोकिएको छ । तर ओमानमा रहेको नेपाली दूतावासले ओमानकै सलाम एअरमार्फत नेपालीलाई ११५ ओमानी रियाल अर्थात २९८ अमेरिकी डलर भाडा तोकेको छ ।

यस्तै बहराइनबाट फर्किनेले ३९२ अमेरिकी डलर तिर्नुपर्छ भने कुवेतको भाडा ४१० अमेरिकी डलर कायम गरिएको छ । जोर्डनको भाडा ६७५, साइप्रसको भाडा ७३० डलर तोकिएको छ ।

हिमालय एअरलाइन्सको भाडा

हिमालय एअरलाइन्सले साउदीको दमामबाट नेपाल फर्कने नेपालीको लागि हिमालयले ४६५ अमेरिकी डलर भाडादर कायम गरेको छ । मलेसियाको क्वालालाम्पुर विमानस्थलबाट स्वदेश फर्कनेका लागि ३७२ अमेरिकी डलर तोकिएको छ ।

यूएईको आबुधाबीका लागि ३८५, बंगलादेशको ढाकाका लागि १६५, माल्दिभ्सको मालेका लागि ४८०, सिंगापुर, नोमपेन्ह र कम्बोडियाका लागि ५२०, श्रीलङ्का र माल्दिभ्सका लागि ३८० अमेरिकी डलर तोकिएको छ ।

उज्यालो अनलाइनकाे सहयाेगमा 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्