एमसीसी पास भए अमेरिकी सेना नेपाल आउने कुरा निराधारः काँग्रेस प्रवक्ता शर्मा

झापा – नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले एमसीसी पास भए अमेरिकी सेना नेपाल पस्ने कुरा निराधार भएको बताएका छन् ।

कांग्रेस झापाले आइतबार यहाँ आयोजना गरेको कार्यक्रममा उनले एमसीसी पारित भए अमेरिकी सेना नेपाल पस्छ भन्ने हल्ला निराधार भएको बताए । प्रवक्ता शर्माले भने, “अमेरिकाले विश्वका कुनै पनि मुलुकमा अनुमति मागेर प्रवेश गरेको छैन, इराकमा पनि अनुमति लिएर प्रवेश गरेको होइन । अमेरिकी सेना पस्ने हल्ला निराधार हो ।”

सुनेको भरमा टिप्पणी गर्ने प्रचलनले एमसीसी गलत हो भन्ने आमजनधारणा बनेको उनको भनाइ थियो । “अक्षरशः पढ्नुस्, अनि एमसीसी सम्झौता कार्यान्वयनका बारे धारणा बनाउनुस्, यो राष्ट्रिय हितमा भए हितमा छ भन्नुस्, नभए छैन भन्नुहोस्”, उनले भने, “सुनेको भरमा धारणा बनाउनु हुँदैन ।”

मुलुकको विद्युत् प्रसारण लाइन विस्तार, उत्पादित बिजुली बिक्री–वितरणका लागि एमसीसी परियोजना लाभदायी हुने उनको भनाइ थियो ।

प्रवक्ता शर्माले सरकारले कोरोना परीक्षणमा प्रभावकारी कार्य गर्न नसकेको आरोप पनि लगाए । यता, कोरोना सङ्क्रमणको जोखिमबाट जनधनको सुरक्षा गर्न माग गर्दै नेपाली कांग्रेस झापाले सरकारलाई ज्ञापनपत्र बुझाउने भएको छ ।

केन्द्रीय समितिको निर्देशनबमोजिम कांग्रेस झापाले असार २ गते जिल्ला प्रशासन कार्यालयमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र पठाउने निर्णय गरेको पार्टीका झापा सभापति उद्धव थापाले बताए । रासस

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्