कोरोना सङ्क्रमितलाई हृदयाघात भएमा…

FILE PHOTO

काठमाडौं – कोरोना सङ्क्रमितलाई हृदयाघात भएमा उपचारका लागि कहाँ जाने ? बन्दाबन्दीका अवस्थामा कोरोना विशेष अस्पताल, क्वारेन्टिन वा घरमै रहँदा मुटुरोगसम्बन्धी अस्पतालमा लान र उपचार पाउन सहज नहुन सक्छ तर चिन्ता गर्नु पर्दैन । बाँसबारीस्थित सरकारी स्वामित्वको शहीद गङ्गालाल राष्ट्रिय हृदय केन्द्रले यसको तयारी गरिसकेको छ ।

सङ्क्रमितलाई हृदयाघात वा मुटुसम्बन्धी कुनै समस्या भएमा उपचार र सेवाका लागि केन्द्रले नियमित शल्यक्रिया र उपचारलाई असर नपर्ने गरी बेग्लै आइसोलेशन वार्डसमेत तयार गरेको छ । सुखको कुरा, हालसम्मका दुई हजार ५०० सङ्क्रमितमध्ये कसैलाई पनि मुटुरोगसम्बन्धी समस्या देखा परेको छैन । कूल दुई सय ५० शय्या रहेको सो विशिष्टीकृत अस्पतालले कोरोना रोकथामका लागि जारी बन्दाबन्दीपछि मूल भवनको द्वार बन्द गराई आकस्मिक कक्षतर्फको भवनको द्वारबाट मात्रै आवागमन गराएको छ । सेवाग्राहीले आकस्मिक कक्ष वा परीक्षणमा जानुपूर्व भाइरसको सम्भावित सङ्क्रमणको लक्षण भए-नभएको पहिचान अनिवार्य गराउने गरेको छ ।

द्वारबाट भित्र गएपछि ‘होल्डिङ कक्ष’ मा उनीहरुको तापक्रम जाँच तथा खोकी वा घाँटीका समस्या भएका वा सङ्क्रमित धेरै भएका जिल्लाबाट आएका बिरामी भएमा अलग्गै आइशोलेसन वार्डमा राखेर उपचार गरिँदै आएको छ । यहाँ भर्ना गरिएका बिरामीलाई सङ्क्रमण देखिएमा मुटुको उपचारपछि कोरोना विशेष अस्पतालमा पठाइनेछ । बन्दाबन्दीका अवस्थामा कोरोना सङ्क्रमितले समेत मुटुसम्बन्धी समस्याबारे आवश्यक परामर्श र सहयोगका लागि केन्द्रको मोबाइल नम्बर ९८५१२३०६८२ मा सम्पर्क गरी विशेषज्ञ चिकित्सकसँग परामर्श गर्न सक्ने व्यवस्था मिलाइएको छ ।

केन्द्रका कार्यकारी निर्देशक डा चन्द्रमणि अधिकारीका अनुसार बन्दाबन्दी अगाडि दैनिक ५५ जना गरी महिनामा एक हजार ६०० सम्मले आकस्मिक कक्षमा सेवा लिएकामा त्यसयता बिरामीको सङ्ख्या घटेको छ । केन्द्रमा गत चैतमा एक हजार १९, वैशाखमा एक हजार २४५ र यही जेठ २२ गतेसम्म ५१० जनाले आकस्मिक वार्डको सेवा लिएका छन् । बहिरङ्गतर्फ सामान्यतः दैनिक ७०० सम्म बिरामी आउने गरेकामा बन्दाबन्दीको केही समय सो सेवा बन्द रहेको र गत वैशाख १६ यता दैनिक २४ देखि १६६ जनासम्मले सेवा लिएका छन् । बन्दाबन्दीकै अवधिमा कूल ५० जनाको मुटुको शल्यक्रिया गरिएको छ भने ३१ जनाको ओपन हार्ट सर्जरी, २३४ जनाको क्याथ ल्याबबाट कोरोनरी एन्जियोग्राफी, ७१ जनाको एन्जियोप्लाष्टी, ६६ जनाको प्राइमरी एन्जियोप्लाष्टी र ४७ जनालाई पेसमेकर राखिएको छ ।

केन्द्रका कार्डियोलोजी विभाग प्रमुख डा सुजीव राजभण्डारीका अनुसार उक्त अवधिमा यहाँ उपचारमा आएकामध्ये २४० जनाको आरडिटी गर्दा पाँच जनाको पोजेटिभ देखिएकामा कोरोना विशेष अस्पतालमा रिफर गरिएको थियो भने मुटुको गतिमा समस्या भएर आएका एक जनालाई त्रिवि शिक्षण अस्पताल सिफारिस गरिएपछि कोरोना पोजेटिभ देखिएको थियो । यहाँ मुटुरोगीमध्ये ४२ जनामा पिसिआर परीक्षण गर्दा सबैको नतिजा नेगेटिभ आएकाले सहजरुपमा सेवा प्रवाह भइरहेको छ । यहाँका कुनै बिरामीलाई कोरोना देखिएमा सबै सेवा बन्द हुने गरेर सिल नगरी त्यस्ता बिरामीलाई बेग्लै आइसोलेशनमा राखेर अन्य बिरामीलाई अर्काे भवनमा नियमित उपचार गर्न सकिने गरी प्रबन्ध गरिएको छ ।- (रासस)

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्