भोलीबाट विदेशमा रहेका नेपालीहरुको उद्धार गरिने, बर्माबाट आउँदैछन् २६ जना नेपाली

काठमाडौं – कोभिड–१९ महामारीका कारण विदेशमा समस्यामा परेका नेपालीको उद्धार शुक्रबारदेखि सुरु हुने भएको छ । पहिलो पटक बर्माबाट २६ जना नेपाली लिएर म्यानमारकै सैनिक जहाज शुक्रबार काठमाडौं आउने भएको छ ।

स्रोतका अनुसार बर्मामा कार्यरत नेपालीहरु पछिल्लो समय काम नभएर अलपत्र परेपछि नेपाल सरकारको अनुरोधमा बर्माले आफ्नै खर्चमा नेपाल ल्याइदिन लागेको हो । फर्किने बेला सो विमानले काठमाडौंमा रहेका बर्मेली नागरिक लिएर जानेछ ।

सरकारले विभिन्न देशमा समस्यामा परेका श्रमिक, विद्यार्थी र अन्य नागरिक फर्काउने क्रममा नेपालकै विमान चार्टर्ड गर्ने तथा सम्बन्धित देशका विमान कम्पनीबाट ल्याउने दुवै प्रक्रिया पूरा गरी उडान अनुमति दिने निर्णय गरिसकेको छ ।
सरकारले ढिलोमा १० जुनबाट विभिन्न देशमा रहेका नेपालीलाई स्वदेश फर्काउने तयारी गरिरहेका बेला बर्माबाट भने शुक्रबारै ल्याउन लागिएको हो । बर्माबाट आउने सबै २६ जना नागरिक बागमती प्रदेशका रहेकाले उनीहरुलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट महिला बालबालिकामन्त्री पार्वत गुरुङले संयोजन गर्नेछन् । सरकारले विभिन्न देशबाट फर्काइने नागरिकलाई प्रदेशगत रुपमा सातजना मन्त्रीको समन्वयमा सम्बन्धित जिल्ला र स्थानीय तहमा पु¥याउने कार्यविधि बनाएको छ । सोही बमोजिम शुक्रबार आउने बागमती प्रदेशका २६ जना नागरिकलाई सम्बन्धित ठाउँमा पु¥याउने जिम्मा गुरुङले पाएका हुन् ।

विमानस्थलमा उत्रिएपछि उनीहरुलाई मन्त्री गुरुङसहित सुरक्षा निकायले बसबाट बसुन्धरास्थित यति पार्टी प्यालेसमा लैजानेछन् । त्यहाँ सरकारले होल्डिङ केन्द्र बनाएको छ । उनीहरुको त्यहाँ स्वास्थ्य परीक्षण हुनेछ र नेपाल टेलिकमले निःशुल्क सिमकार्ड समेत दिनेछ ।

होल्डिङ केन्द्रमै उनीहरुको सबै व्यक्तिगत विवरण लिएर केहीबेर आराम गराएपछि मन्त्री गुरुङले त्यहीँबाट सम्बन्धित नगरपालिका वा गाउँपालिकालाई जिम्मा लगाउने उच्चस्तरीय समन्वय समितिका एक सदस्यले बताए । ती व्यक्ति सम्बन्धित स्थानीय तहको क्वारेन्टाइनमा १४ दिन बसेपछि पीसीआर परीक्षण गरेर घर जान पाउनेछन् । पहिलो पटक विदेशबाट नेपाली ल्याउने सन्दर्भमा उच्चस्तरीय समन्वय समितिका संयोजक ईश्वर पोखरेलसहित परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, पर्यटनमन्त्री योगेश भट्टराई, बर्माका लागि नेपाली राजदूत भीम उदासबीच छलफलसमेत भएको स्रोतले बताएको छ । अनलाइनखबरबाट

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्