सलह नेपाल आउने सम्भावना न्यून, के हो सलह ?

काठमाडौँ – यतिबेला आम मानिसबीच कोरोना भाइरसबाहेक अर्को एउटा जैविक जीव सलहको चर्चा निकै छ । अफ्रिकाको केन्या, इथियोपिया, सोमालिया, सुडान, पाकिस्तान पसेको सलह यतिबेला भारत आइपुगेको छ ।
करोडौँको हुलमा रहेको सलहले त्यहाँको बाली खाइरहेका छन् । यो कीरा नेपाल आइपुग्छ ? कृषिप्रधान देश नेपालको बालीनाली कति नष्ट गर्छ ? सबैको चासोको विषय बनेको छ । यदि नेपाल भित्रिएमा यसले करिब चार दिनभित्र सबै नेपालको भूभागमा विचरण गर्न भ्याउँछ ।
नेपालमा यो कीरा आउन सक्ने तत्कालको सम्भावना न्यून रहेको विज्ञ बताउँछन् तर आउँदैन भन्न सक्ने अवस्था पनि नरहेको त्रिभुवन विश्वविद्यालयका किटविज्ञ डा. प्रेमबहादुर बुढाले बताए । उनका अनुसार हालै भएको अध्ययन अनुसार नेपालमा तत्काल आउन सक्ने अवस्था अन्य देशको तुलनामा कम छ ।
अब छिट्टै सुरु हुन लागेको मनसुनले यसलाई रोक्ने आँकलन विज्ञहरूले गरेका छन् । “मनसुन सुरु भयो अनि पानी प¥यो भने यो अगाडि बढ्दैन, भारतका महाराष्ट्र, राजस्थान, हरियाणा लगायतका सुक्खा क्षेत्रमा पानी परेको खण्डमा समूह एकत्रित हुन पाउँदैन,” उनले भने तर अर्को पुस्ता ब्युँतने खतरा बढी छ । त्यही रहँदाको अवस्थामा उसले अण्डा पार्छ । अहिले पारेको अण्डाबाट दुई हप्तापछि बच्चा निस्केर बयस्क भयो भने अझ ठूलो सङ्ख्यामा नेपाल आउन सक्ने सम्भावना रहेको उनी बताउँछन् ।
सलहको विचरण तापक्रम र हावाको वेगमा निर्भर हुने उनी सुनाउँछन् । उनका अनुसार अत्यधिक तापक्रम ३०–४० डिग्रीमाथि रहेमा र हावाको वेग नेपालतर्फ आएको अवस्थामा यसको भारतबाट सहज प्रवेश हुन सक्छ । रातमा हलचल नगर्ने तर दिउँसो बढी सक्रिय रहने यो कीरा तापक्रम ४० डिग्री नाघेको खण्डमा रातमा पनि समूहमा एक स्थानबाट अर्को स्थानमा बसाइ सर्छ । त्यसैले सलहको जोखिम नेपालमा अझै छ ।

के हो सलह ?

सलह फट्याङ्ग्रा प्रजातिको एक कीरा हो । अण्डाबाट निस्केपछि खान थाल्छ । खन्चुवा प्रवृत्तिको यो कीराले वरिपरिका हरिया घाँसपासलाई पहिलो आहरा बनाउँछ । खाँदै अगाडि बढ्दै गर्दा विभिन्न क्षेत्र विचरण गर्छ । पाँच चरणमा आफ्नो काँचुली फेर्दै यो बयस्क बन्छ । जतिपटक काँचुली फेर्छ, त्यति ठूलो आकार लिन्छ ।
हाल देखिएको सहल विगत ७० वर्षअघि देखिएको भन्दा २० गुणा ठूलो आकारको छ । “सुरुको अवस्थामा त्यति धेरै लामो दूरी तय गर्दैछ, दोस्रो चरणमा अलिक छिटो अघि बढ्छ, जब बयस्क हुन्छ, तब हावाको गतिमा उडेर माइलका माइल लामो यात्रामा अघि बढ्छ,” उनी भन्छन् । पछिल्लो समय रेकर्ड भए अनुसार प्रतिवर्गकिलोमिटर क्षेत्रमा चारदेखि आठ करोडको सङ्ख्यामा सलहको हुल एक स्थानबाट अर्को स्थानमा उड्छ ।
यसले बिरुवाका पात, फल मात्र हैन, यसको हाँगा र बिरुवा नै सखाप पार्छ । सलहको हुलले एक दिनमा १५० किलोमिटरको दूरी पार गर्ने क्षमता राख्छ । त्यस्तै यसको प्रजनन क्षेत्र र अण्डा नष्ट गर्ने, जैविक विषादी छर्कर्ने, झुल तथा जालको प्रयोग गरेर पक्रेर नष्ट गर्नेजस्ता उपाय स्थानीय तहमा अपनाएर क्षति थोरै भए पनि कम गर्न सकिने विज्ञ औँल्याउँछन् । गोरखापत्रअनलाइनबाट

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्