स्वदेशी तरकारी नष्ट, भारतबाट आयातित भान्सामाः मन्त्रालय भन्छ ‘हाम्रो भनेको कसैले सुन्दैन’

काठमाडौं – तरकारी तथा फलफूलबाट कोरोना सर्ने अहिलेसम्म संसारमा कुनै पनि अध्ययनले देखाएको छैन । तर, नेपालमा चाहिँ कोरोना सार्न सक्ने भन्दै किसानले दुःख गरी उब्जाएका तरकारी–फलफूल नष्ट गर्ने सिलसिला चलिरहेको छ, त्यो पनि सरकारी निकायहरूकै रोहवरमा ।

स्थानीय तह तथा जिल्ला प्रशासनले नै तरकारी–फलफूलका ट्रकलाई नियन्त्रणमा लिँदै नष्ट गराउन थालेका हुन् । जबकि भारतबाट आयातित तरकारी–फलफूल भने निर्बाध उपभोक्ताको भान्सासम्म पुगिरहेका छन् ।

दुःख गरेर उब्जाएका तरकारी दुई रुपैयाँ किलोमा पनि बिक्री हुन छाडेपछि किसानहरू आफ्नो उत्पादनमाथि ट्याक्टर चलाएर नष्ट गर्न थालेका छन् । चितवन, काभ्रे, कपिलवस्तु र रुपन्देहीको कृषकहरू उत्पादित तरकारी नबिकेर रोइकराई गरिरहेका बेला अर्घाखाँची र कास्की जिल्लामा भने स्थानीय तह र जिल्ला प्रशासनकै संलग्नतामा हरियो तरकारी तथा फलफूलहरू नष्ट गर्ने अभियान चलाइएको छ ।

मन्त्रालय भन्छ : दु:खी छौं

कोरोनालाई कारण देखाउँदै स्वदेशमा उत्पादित कृषि उपज नष्ट गर्न स्थानीय तह र जिल्ला प्रशासन कार्यालयहरू लागेको भन्दै कृषि तथा पशुपन्छी विकास मन्त्रालयले दुःख व्यक्त गरेको छ । कृषि सामग्री, उत्पादनलाई कुनै खाले अवरोध नगर्ने मन्त्रालयले पटक–पटक आग्रह गरे पनि अटेर गरिएको मन्त्रालयका सहसचिव एवं प्रवक्ता हरिबहादुर केसीले बताए ।

‘स्वदेशी कृषि उपज नष्ट गर्न लकडाउनको सुरुवातदेखि नै शृङ‍्खलाबद्ध हर्कत भएका छन्, यस्ता गतिविधि रोक्नका लागि हामीले पटक पटक भन्यौं, तर कसैले सुन्दैन,’ प्रवक्ता केसीले भने ।

कृषि उपजमाथिको आक्रमण रोक्न जिल्ला प्रशासनलाई गृह मन्त्रालयबाट र स्थानीय तहलाई सामान्य प्रशासन मन्त्रालयबाट लिखित पत्र पठाइएको मन्त्रालयले जनाएको छ ।

कृषकको गतिविधिलाई सहजीकरण गरिदिन कृषिमन्त्री घनश्याम भुसालले गृह र सामान्य प्रशासन मन्त्रीलाई पटक–पटक आग्रह गरेको तर नतिजा नदेखिएको मन्त्रालयले जनाएको छ ।

भारतबाट निर्बाध आयात

लकडाउनका बीच पनि भारतलगायतका मुलुकबाट भने तरकारी, फलफूल र खाद्यान्न आयात निरन्तर छ । खाद्यवस्तु तथा तरकारीबाट कोरोना सर्ने वैज्ञानिक कारण नपाइएपछि सरकारले आयात खुल्ला गरेको हो ।

लकडाउन भएको चैत ११ देखि जेठ ११ सम्मको अवधिमा नेपालले भारतबाट एक लाख ९९ हजार ७१ मेट्रिक टन खाद्यान्न, ७५ हजार तीन सय १५ मेट्रिक टन तरकारी, ५६ हजार ३ सय ५७ मेट्रिकटन गेडागुडी, २९ हजार एक सय १५ मेट्रिक टन फलफूल र ११ हजार २ सय ४३ मेट्रिकटन दुग्धजन्य पदार्थ आयात गरेको भन्सार विभागले जनाएको छ ।

लकडाउन भएको ४२ दिनसम्मको तथ्यांकमा नै चार अर्ब १२ करोड ५५ लाख रुपैयाँ बराबरको तरकारी भारतबाट आयात भएको देखिएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्