सेनाले ल्याएको स्वास्थ्य सामाग्रीमा पीसीआर कीटको संख्या थोरै

काठमाडौँ — नेपाली सेनाले हालसम्म ‘जी टू जी’ प्रक्रियामार्फत चीनबाट २८ हजार ३ सय ८५ थान पीसीआर किट, सोही संख्यामा परीक्षणका लागि आवश्यक रिएजेन्ट तथा थ्रोट स्वाब कलेक्टर टुल्स ल्याएको छ । संक्रमण तीव्र गतिले बढिरहेका बेला यी सामग्री मुलुकका स्वास्थ्य संस्थाको आवश्यकताको तुलनामा न्यून हो । कोभिड–१९ विपद् व्यवस्थापन केन्द्रस्थित उच्च स्रोतबाट प्राप्त तथ्यांकअनुसार सेनाले यसपटक ल्याएबराबर नै सामग्रीहरु अझै आउने बाँकी नै छ ।

चैत १६ को मन्त्रिपरिषद् बैठकको निर्देशनअनुसार सेनाले चीनबाट २ अर्ब २६ करोडमा २ सय ४३ टन स्वास्थ्य सामग्री खरिद गर्दा त्यसमा पीसीआर परीक्षणका लागि आवश्यक पर्ने सामग्री भने करिब ५७ हजार थान मात्रै रहेको खुलेको हो ।

स्रोतका अनुसार यी सबै सामग्री सेनाले समन्वय गरेर खरिद गरे पनि खरिद सूची भने सेनाले बनाएको होइन । ‘स्वास्थ्य मन्त्रालयमा रहेका विज्ञहरुले सूची बनाउँदा नै पीसीआर परीक्षणका लागि आवश्यक सामग्री थोरै संख्यामा राखिएको देखियो,’ स्रोतले भन्यो, ‘सामान खरिद नै गरेपछि किन यति थोरै संख्या राखियो त्यो त सूची बनाउनेले मात्रै भन्न सक्ला ।’ यस्तै सेनाले पीसीआर किटका साथै चीनबाट विभिन्न ६९ वटा स्वास्थ्य सामग्री खरिद गर्नका लागि सम्झौता गरिसकेको छ । जसमध्ये दुईपटक हवाईमार्ग र एकपटक स्थलमार्ग गरेर लगभग ५४.९ टन सामग्री सेनाले नेपाल ल्याइसकेको छ ।

सेनाले तीन चरण गरेर देशमा ल्याएका अन्य सामग्रीमा १ लाख ८८ हजार ४ सय थान विभिन्न साइजका डिस्पोजेबल गाउन, १ लाख ४९ हजार ९ सय थान विभिन्न साइजका डिस्पोजेबल सुरक्षित लुगा, ७४ हजार ६ सय थान सामान्य गगल्स तथा पोलिकार्बोनेटयुक्त गगल्स ४७ हजार ७ सय थान छ । साथै विभिन्न आकारका डिस्पोजेबल पन्जा २६ लाख २७ हजार ३ सय थान, सर्जिकल मास्क २५ लाख ६ हजार २० थान, सुरक्षित मास्क २ लाख १२ हजार ४ सय थान छन् ।

यस्तै उच्च स्रोतका अनुसार चीनबाट डायलसिस गर्ने मेसिन ३० वटा, फगर मेसिन ३५ वटा तथा पल्स अक्सिमिटर २ सय वटासहित करिब ५० वटाभन्दा बढी सामग्री ल्याइसकेको छ । हालसम्म सेनाले यसरी विभिन्न तीन चरणमा गरेर ल्याएको सामग्री त्रिभुवन विमानस्थलस्थित ११ नम्बर बाहिनीकै वेयरहाउसभित्र राखेको छ ।

सहयोगमै प्राप्त पीसीआर किटले परीक्षण

सेनाले ल्याएको स्वास्थ्य सामग्रीमा पीसीआर परीक्षण गर्ने सामग्रीको संख्या थोरै भए पनि हाललाई अभाव नरहेको स्वास्थ्य मन्त्रालय स्रोतको दाबी छ । स्रोतका अनुसार त्यस्ता सामग्री ठूलो संख्यामा मौज्दात नरहे पनि समय समयमा डेलिभरी प्राप्त भइरहेकाले अभावै भने छैन ।

‘विभिन्न देशबाट सामानहरु प्राप्त भएको छ । साथै सामान खरिद प्रक्रिया पनि अगाडि बढेकै छ । त्यसैले अभाव नै होलाजस्तो त देखिन्न,’ मन्त्रालय स्रोतले भन्यो, ‘फेरि पनि अर्को १ लाख ३१ हजार जति पीसीआर किट किन्नका लागि पनि प्रक्रिया अगाडि बढेको छ ।’

नेपाललाई पछिल्लोपटक चीन, भारत, स्विजरल्यान्ड तथा दक्षिण कोरियाबाट समेत केही हजार थान पीसीआर परीक्षणका लागि आवश्यक किट तथा रिएजेन्ट प्राप्त भएको थियो । सहयोगमा १ लाख बढीको संख्यामा त्यस्ता सामग्री प्राप्त भएको थियो ।
राष्ट्रिय जनस्वस्थ्य प्रयोगशालाले पनि पीसीआर परीक्षणका लागि अहिले सामग्री अभाव नभएको जनाएको छ । सामग्री अभाव भएर परीक्षण नै रोकिने अवस्था नभए पनि प्रयोगशालासम्बद्ध चिकित्सकहरू परीक्षणको दायरा बढाउनका ठूलै चुनौती देखिरहेका छन् । कान्तिपुरबाट

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्