२ हप्तामा सुदूरपश्चिमका विभिन्न नाकाबाट ४० हजार नेपाली स्वदेश भित्रिए

कैलाली – सुदूरपश्चिम प्रदेशको विभिन्न नाका भएर भारतका विभिन्न शहरबाट जेठ २ गते यता ३९ हजार ८६० नेपाली भित्रिएका छन् । रोजगारीका लागि भारतका विभिन्न शहरमा काम गर्न गएकाहरु आउनेक्रम अझै जारी छ । बिहीबार बैतडीको झुलाघाट नाकाबाट समेत नेपाली भित्रिएका छन् ।
जिल्ला प्रशासन कार्यालय, कैलालीका अनुसार जेठ २ गतेदेखि अहिलेसम्म गौरीफन्टा नाकाबाट २८ हजार ८७९ जना भित्रिएका छन् ।
त्यसै गरी, कञ्चनपुर जिल्ला प्रशासन कार्यालयका अनुसार बुधबारसम्म आठ हजार नेपाली गड्डाचौकी नाकाबाट भित्रिएको बताउँदै बिहीबार दुई हजार ४०५ नेपाली उक्त नाकाबाट भित्रिएको जनाइएको छ । त्यस्तै, बैतडीको झुलाघाट नाकाबाट ५७६ जना नेपाली भित्रिएको जिल्ला प्रहरी कार्यालय, बैतडीकाले जनाएको छ ।
भारतमा अलपत्र परेका हजारौँ नेपालीलाई ल्याउन नेपाल भारत सीमा नाका खुल्ला गरिएसँगै उनीहरूको आउने क्रम बढ्दै गइरहेको छ । सीमा क्षेत्र तथा भारतको विभिन्न क्वारेन्टाइनमा रहेका नेपालीलाई भित्र्याउने कार्य भइहेको छ ।
जेठ २ गतेदेखि नेपाल भित्रिनेहरूको विवरण दैनिक सीमामा खटिएका सुरक्षाकर्मीले राखी सम्बन्धित जिल्लामा पठाउने कार्य गरिएको छ । सीमा खुल्ला गरिएपछि पछिल्लो पटक सुदूरपश्चिमका नौ जिल्लालगायत अन्य जिल्लाका नागरिकलाई सम्बन्धित पालिकाले आफैँ सवारीसाधन पठाएर लगिरहेका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्