पहिरोले बीपी राजमार्ग पूर्णरूपमा अवरुद्ध, रोशी खोलाको सतर्कता तह पार

काभ्रे – अविरल वर्षापछि आएको पहिरो र लेदोका कारण काभ्रेपलाञ्चोक खण्डका विभिन्न स्थानमा बीपी राजमार्ग पूर्णरूपमा अवरुद्ध भएको छ। वर्षाका कारण सडकमा पहिरो खस्नुका साथै लेदो थुप्रिएपछि यातायात सञ्चालन प्रभावित भएको हो। इलाका प्रहरी कार्यालय मंगलटारका प्रमुख प्रहरी निरीक्षक निकिता कुमारी मिश्राका अनुसार बीपी राजमार्गअन्तर्गत नमोबुद्ध–६ को चौकीडाँडा, रोशी–७ को चारसयवेशी, रोशी–८ को गिम्दीवेशी र रोशी–११ को माम्तीमा पहिरो खसेको छ। ती स्थानमा पहिरोका कारण सडक पूर्णरूपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ।

प्रहरी निरीक्षक मिश्राका अनुसार क्षेत्रमा अझै वर्षा भइरहेकाले पहिरो हटाएर सडक सञ्चालनमा ल्याउन समय लाग्न सक्ने अवस्था छ। सडकमा पहिरो खस्ने क्रम जारी रहन सक्ने जोखिमसमेत रहेकाले यात्रुहरूलाई सडकको अवस्थाबारे आवश्यक जानकारी लिएर मात्र यात्रा गर्न प्रहरीले अनुरोध गरेको छ। यसैबीच, काभ्रेपलाञ्चोकको पनौती हुँदै बग्ने रोशी खोलामा पानीको सतहसमेत बढेको छ। पनौती जलमापन केन्द्रमा मापन गरिएको रोशी खोलाको जलसतहले सतर्कता तह पार गरेको र अझै बढ्दो क्रममा रहेकाले तल्लो तटीय क्षेत्र तथा डुबानको जोखिम रहेका स्थानमा सतर्कता अपनाउन प्रशासनले आग्रह गरेको छ।

प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीका अनुसार बाढी पूर्वानुमान महाशाखाबाट प्राप्त सूचनाअनुसार पनौतीमा रोशी खोलाको जलसतहले सतर्कता तह पार गरेको हो। जलसतह बढिरहेको अवस्थालाई ध्यानमा राख्दै खोला आसपास तथा तल्लो तटीय क्षेत्रमा रहेका नागरिकलाई विशेष सावधानी अपनाउन प्रशासनले आग्रह गरेको छ।

लगातारको वर्षाका कारण काभ्रेका सडक तथा नदी–खोलामा जोखिम बढ्दै गएको भन्दै प्रशासनले आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ। विशेषगरी पहिरोको जोखिम रहेका सडकखण्डमा अनावश्यक यात्रा नगर्न र नदी तथा खोलाको किनारमा नजान स्थानीय प्रशासनले अनुरोध गरेको छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्