काठमाडौं – नेक्सस इन्टरनेशनल स्कुलको आयोजनामा ‘नेक्सस कबड्डी कप २०८३’ को दोस्रो संस्करण सुरु भएको छ। विद्यालयस्तरीय छात्र तथा छात्रा कबड्डी टोलीबीच हुने प्रतियोगिताको उद्घाटनसँगै पहिलो चरणअन्तर्गत लिगका १२ खेल सम्पन्न भएका छन्।
प्रतियोगिताको उद्घाटन नेपालय इन्टरनेशनलका अध्यक्ष तथा पूर्व राष्ट्रिय क्रिकेट खेलाडी सुभाष प्रधानले गर्नुभएको थियो। कार्यक्रममा नेक्सस इन्टरनेशनल स्कुलका संस्थापक प्रिन्सिपल आरबी कटवाल र भाइस प्रिन्सिपल स्वीकृती राईको उपस्थिति रहेको थियो।

प्रतियोगितामा छात्र तथा छात्रातर्फ विभिन्न विद्यालयका टोली सहभागी छन्। विद्यालयस्तरमा कबड्डी खेलको विकास, विद्यार्थीमा खेल भावना र अनुशासनको विकास, शारीरिक क्षमता अभिवृद्धि तथा टोलीगत सहकार्यको भावना विकास गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो।
नेक्सस इन्टरनेशनल स्कुलका संस्थापक प्रिन्सिपल आरबी कटवालले विद्यालय तहबाटै विद्यार्थीमा खेलकुदप्रतिको रुचि र प्रतिभाको विकास गर्न प्रतियोगिता आयोजना गरिएको बताउनुभयो। उहाँले कबड्डीले विद्यार्थीमा शारीरिक तन्दुरुस्तीका साथै अनुशासन, आत्मविश्वास, टोलीगत भावना र सहकार्यको विकास गर्न महत्वपूर्ण भूमिका खेल्ने उल्लेख गर्नुभयो। विद्यालयले पढाइसँगै अतिरिक्त क्रियाकलापलाई पनि प्राथमिकता दिँदै आएको बताउँदै उहाँले आगामी दिनमा पनि विद्यार्थीको प्रतिभा प्रस्फुटनका लागि यस्ता प्रतियोगितालाई निरन्तरता दिइने बताउनुभयो।
प्रतियोगिताको पहिलो चरणअन्तर्गत आज लिग चरणका १२ खेल सम्पन्न भएको अतिरिक्त क्रियाकलाप प्रमुख विवश मुस्यानले जानकारी दिनुभयो। प्रतियोगिताका खेलहरूमा विद्यार्थी खेलाडीले उत्साहपूर्वक सहभागिता जनाएका छन्। दोस्रो संस्करणको प्रतियोगिताले विद्यालय तहका खेलाडीलाई आफ्नो प्रतिभा प्रदर्शन गर्ने अवसर प्रदान गर्नुका साथै कबड्डी खेलप्रति विद्यार्थीको आकर्षण बढाउने अपेक्षा आयोजकले गरेको छ।




