काठमाडौँ – काठमाडौँ उपत्यकाका उपभोक्ताले बिहीबारदेखि एलपी ग्यास प्रतिसिलिन्डर पुरानै मूल्य दुई हजार ६० रुपैयाँमा पाउने भएका छन्। काठमाडौँमा ग्यास बुलेट भित्रिन थालेसँगै आपूर्ति सहज हुने र पुरानै मूल्यमा ग्यास उपलब्ध गराउने तयारी गरिएको हो।
राष्ट्रिय उपभोक्ता मञ्चको स्थापना दिवसका अवसरमा बुधबार काठमाडौँमा आयोजित छलफल कार्यक्रममा नेपाल एलपी ग्यास उद्योग सङ्घका अध्यक्ष दिवान चन्दले उपत्यकामा ग्यासका बुलेट भित्रिन थालेकाले बिहीबारदेखि नै पुरानो मूल्यमा ग्यास उपलब्ध हुने जानकारी दिनुभयो। उहाँका अनुसार ग्यास आपूर्ति नियमित हुन थालेपछि उपभोक्ताले लामो समयसम्म डिलरमा लाइन बस्नुपर्ने अवस्था पनि क्रमशः हट्नेछ।
भदौ १४ गते कृष्णभिरमा पहिरो गएर पृथ्वी राजमार्ग अवरुद्ध भएपछि तराईबाट ग्यासका बुलेट काठमाडौँ आउन सकेका थिएनन्। त्यसपछि तराईमा रहेका प्लान्टमा ग्यास भरेर साना सवारीसाधनमार्फत सिलिन्डर काठमाडौँ ल्याउनुपर्ने अवस्था आएपछि ढुवानी लागत बढेको भन्दै ग्यास उद्योगीहरूले मूल्य बढाएका थिए। त्यस क्रममा प्रतिसिलिन्डर १०५ रुपैयाँ ३८ पैसा थप गरी दुई हजार १६५ रुपैयाँ ३८ पैसा कायम गरिएको थियो। अध्यक्ष चन्दले अब काठमाडौँ उपत्यकामा ग्यासका बुलेट नियमित रूपमा भित्रिन थालेकाले आपूर्ति सहज हुने बताउनुभयो। उहाँले आपूर्ति व्यवस्था सामान्य अवस्थामा फर्किएपछि उपभोक्ताले घरनजिकैका विक्रेताबाट सहज रूपमा खाली सिलिन्डर साटेर भरिएको सिलिन्डर लिन सक्ने अवस्था बन्ने बताउनुभयो।
आपूर्ति मन्त्रालयको आपूर्ति व्यवस्थापन महाशाखा प्रमुख एवं सहसचिव जितेन्द्र बस्नेतले नेपालमा थप १६० वटा एलपी ग्यास बुलेट उपलब्ध गराउन भारत सरकार सकारात्मक देखिएको जानकारी दिनुभयो। उहाँका अनुसार हाल मासिक करिब ५० हजार मेट्रिक टन रहेको एलपी ग्यास आपूर्तिलाई बढाएर ६० हजार मेट्रिक टनभन्दा बढी पुर्याउन कूटनीतिक पहल भइरहेको छ। थप ग्यास बुलेट उपलब्ध भएमा आगामी दिनमा ढुवानी तथा आपूर्ति व्यवस्थापन थप सहज हुने अपेक्षा गरिएको छ। सहसचिव बस्नेतले घरमा नियमित रूपमा प्रयोग गर्ने सिलिन्डरका अतिरिक्त थप सिलिन्डरसमेत खरिद गरी स्टक राख्न उपभोक्ताहरू लाइनमा बस्दा बजारमा माग अस्वाभाविक रूपमा बढेको बताउनुभयो। त्यसले सीमित आपूर्तिको समयमा ग्यास अभाव झन् जटिल बनाएको उहाँको भनाइ छ।
प्रतिनिधिसभाका सदस्य तथा उद्योग, वाणिज्य र श्रम तथा उपभोक्ता समितिका सदस्य प्रकाशसिंह कार्कीले ग्यासको समस्या व्यवसायीका कारण नभई बिचौलियाका कारण उत्पन्न भएको दाबी गर्नुभयो। यस्तै, उपभोक्ता मञ्चका अध्यक्ष प्रेमलाल महर्जनले ग्यासको अभावसँगै चिनी, चामललगायत खाद्यवस्तुको मूल्यवृद्धि, बजार अनुगमन तथा बजार नियमन प्रणाली प्रभावकारी हुन नसकेको बताउनुभयो। यसैबीच, वैकल्पिक मार्गबाट ग्यास आयात नियमित भइरहे पनि पछिल्लो समय बजारमा उपभोक्ताले सहज रूपमा ग्यास पाउन सकेका छैनन्। लामो समयसम्म डिलरमा सिलिन्डर राख्दा पनि ग्यास नपाएपछि उपभोक्ताले अभावको समस्या झेल्दै आएका छन्। विशेषगरी घरमा एउटा मात्र सिलिन्डर भएका उपभोक्ता, विद्यार्थी तथा ज्येष्ठ नागरिकलाई ग्यास अभावको असर बढी परेको छ।
शङ्खमुलका राजेन्द्र श्रेष्ठले आफूहरूले एक महिनादेखि ग्यास नपाउँदा खाना पकाउन समस्या भएको बताउनुभयो। घरमा विद्युतीय चुलो भए पनि आफूहरू बिहानै काममा बाहिर जानुपर्ने र ८४ वर्षीया आमाले विद्युतीय चुलो प्रयोग गर्न नजान्दा समस्या थपिएको उहाँले बताउनुभयो। नेपाल आयल निगमको एलपी ग्यास विभागका प्रमुख विनितमणि उपाध्यायले मुख्य राजमार्ग अवरुद्ध हुँदा तराईबाट साना सवारीसाधनमार्फत ग्यास ल्याउनुपरेकाले समय बढी लाग्ने र एकपटकमा कम मात्रामा ग्यास आउने अवस्था रहेको बताउनुभयो। अब ग्यास बुलेटहरू नियमित रूपमा आउन थालेपछि बजारमा देखिएको अभाव क्रमशः हट्दै जाने उहाँको भनाइ छ।
उहाँका अनुसार अधिकांश ग्यास उद्योग धादिङमा रहेकाले सडक मार्ग सहज भएपछि उद्योगहरूले नियमित रूपमा ग्यास रिफिलिङ गरी बजारमा पठाउन सक्नेछन्। एउटा ग्यास बुलेटमा करिब एक हजार २५० सिलिन्डर बराबरको ग्यास आउने गर्दछ। नेपाल आयल निगमका अनुसार कृष्णभिरबाट मंगलबार छ वटा ग्यास बुलेट पार भएका थिए भने बुधबार २५ वटा बुलेट पार भएका छन्। नेपाल एलपी ग्यास उद्योग सङ्घका अध्यक्ष चन्दका अनुसार काठमाडौँ उपत्यकामा दैनिक करिब ४० हजार सिलिन्डर ग्यास खपत हुने गरेको छ। अहिले पनि सोही हाराहारीमा ग्यास आयात भइरहे पनि लामो समयदेखि रोकिएको आपूर्ति र बढेको मागका कारण उपभोक्ताले तत्काल सहज रूपमा ग्यास पाउन नसकेको उहाँले बताउनुभयो। यसअघि पश्चिम एसियाली क्षेत्रमा भएको युद्धका कारण आपूर्ति व्यवस्थामा समस्या देखिएपछि गत फागुन २८ गतेदेखि करिब चार महिनासम्म नेपालमा आधा तौलका सिलिन्डर वितरण गरिएको थियो। पछिल्लो समय सडक अवरोध र ढुवानी समस्याका कारण पुनः ग्यास आपूर्तिमा दबाब परेको थियो। सडकमार्गमा बुलेटको आवागमन बढेसँगै अब बजारमा ग्यासको आपूर्ति नियमित हुने र उपभोक्ताले सहज रूपमा ग्यास पाउने अपेक्षा गरिएको छ।



