चिलिमे जलविद्युत् केन्द्रको सुरुङबाट तीन शव र मानव अङ्ग फेला

रसुवा – भोटेकोशी बाढीपछि खोज तथा उद्धारका क्रममा चिलिमे जलविद्युत् केन्द्रको सुरुङ क्षेत्रबाट आज तीन वटा सग्ला शव र एउटा मानव अङ्ग फेला परेको छ । नेपाली सेनाको नेतृत्वमा सशस्त्र प्रहरी बल, नेपाल विद्युत् प्राधिकरण तथा भारतीय सेनासहितको खोज तथा उद्धार टोलीले विद्युत् गृह क्षेत्रबाट ती शव तथा मानव अङ्ग फेला पारेको हो ।

रसुवाका प्रमुख जिल्ला अधिकारी कमलप्रसाद पाण्डेका अनुसार सुरुङ उत्खनन तथा खोजीका क्रममा विद्युत् गृह क्षेत्रबाट शव फेला परेको हो । गत भदौ १० गते भोटेकोशी नदीमा आएको बाढीले जलविद्युत् केन्द्रको हाताभित्र रहेका भवन तथा पर्खालसमेत बगाउनुका साथै सुरुङमा माटो, ढुङ्गा तथा अन्य भग्नावशेष थुपारिएपछि खोज तथा उद्धार कार्य कठिन बनेको थियो ।

बाढी गएको दिन चिलिमे जलविद्युत् केन्द्रको बिहानी सिफ्टमा एक इन्जिनियर, दुई सुपरभाइजर, दुई चौकीदार र एक कार्यालय सहयोगीसहित छ जना कर्मचारी कार्यरत रहेको केन्द्रका वरिष्ठ सहायक कमलबहादुर खरेलले जानकारी दिनुभयो । बाढीपछि ती कर्मचारीको अवस्थाबारे खोजी भइरहेको थियो ।

प्रजिअ पाण्डेका अनुसार सुरुङभित्र फसेका कर्मचारीको खोजी तथा उद्धारलाई तीव्र बनाउन नेपाली सेनाले आवश्यक तयारी गरिरहेको छ । उद्धार टोलीलाई आवश्यक सहयोग गर्न सदरमुकाम धुन्चेमा एक हेलिकप्टरसमेत तयारी अवस्थामा राखिएको छ । सुरुङभित्र प्रवेश गरी बाँकी सम्भावित व्यक्तिको खोजी तथा उद्धारलाई यथाशक्य छिटो अघि बढाउने प्रयास भइरहेको उहाँले बताउनुभयो ।

यसैबीच, खोज तथा उद्धारमा खटिएको सुरक्षा टोलीले अप्पर त्रिशूली जलविद्युत् आयोजना–१ को अडिट टनेलबाट पनि आज पाँच जनाको शव फेला पारेको छ । उत्तरगया गाउँपालिका–१ दलदुङ खोलाबाट करिब ८०० मिटरभित्र रहेको सुरुङमा ती शव फेला परेको प्रहरी नायब उपरीक्षक अशोक थापाले जानकारी दिनुभयो ।

सुरुङभित्र फेला परेका पाँचै शवको तत्काल पहिचान खुल्न नसकेको प्रहरीले जनाएको छ । शवको पहिचान तथा सनाखतका लागि आवश्यक प्रक्रिया अघि बढाइने भएको छ । भोटेकोशी बाढीपछि जलविद्युत् आयोजनाका सुरुङ तथा भूमिगत संरचनामा बेपत्ता भएकाहरूको खोजी कार्यलाई सुरक्षा निकाय तथा प्राविधिक टोलीले निरन्तरता दिइरहेका छन्।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्