काठमाडौँ – क्वालालम्पुरमा शनिबार सम्पन्न एसियाली क्रिकेट काउन्सिल (एसीसी) पुरुष प्रिमियर कपको फाइनलमा अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) को आचारसंहिता उल्लंघन गरेको भन्दै नेपालका रोहित पौडेल तथा संयुक्त अरब इमिरेट्स (युएई) का अदीब उस्मानी र खुजैमा तनवीर कारबाहीमा परेका छन् । आइसिसीका अनुसार अदीब उस्मानी र रोहित पौडेललाई म्याच फीको १५ प्रतिशत जरिवाना गरिएको छ । दुवै खेलाडीले खेलाडी तथा खेलाडी सहयोगी टोलीका लागि आइसिसी आचारसंहिताको धारा २.४ उल्लंघन गरेको पाइएको हो । उक्त धाराले अन्तर्राष्ट्रिय खेलका क्रममा अम्पायरले दिएको निर्देशन पालना नगर्ने विषयलाई समेट्छ ।
नेपालको इनिङ्सको ३१औँ ओभरमा अदीब र पौडेलबीच भनाभन भएको थियो । विवादको अवस्था साम्य पार्न अम्पायरहरूले दिएको निर्देशन पालना नगरेको ठहर भएपछि दुवै खेलाडीमाथि कारबाही गरिएको हो । यस्तै, युएईका खुजैमा तनवीरलाई फरक घटनामा म्याच फीको १० प्रतिशत जरिवाना गरिएको छ । उनले आइसिसी आचारसंहिताको धारा २.२ उल्लंघन गरेको ठहर भएको हो । उक्त धाराअन्तर्गत अन्तर्राष्ट्रिय खेलका क्रममा क्रिकेट सामग्री, कपडा वा मैदानका संरचनाको दुरुपयोगसम्बन्धी विषय पर्छ ।
युएईको इनिङ्सको ४६औँ ओभरमा आउट भएपछि खुजैमाले आफ्नो ब्याटले स्टम्पमा प्रहार गरेका थिए । सोही घटनालाई आचारसंहिता उल्लंघनका रूपमा लिँदै उनलाई जरिवाना गरिएको हो । जरिवानासँगै तीनै खेलाडीको अनुशासन रेकर्डमा एक–एक डिमेरिट अंक थपिएको छ । पछिल्लो २४ महिनामा उनीहरूका लागि यो पहिलो अनुशासन उल्लंघन भएकाले यसअघिको कुनै डिमेरिट अंक नरहेको आइसिसीले जनाएको छ । तीनै खेलाडीले आफ्नो गल्ती स्वीकार गर्दै अमिरात आइसिसी इन्टरनेसनल प्यानल अफ म्याच रेफ्रीका अली नक्वीले प्रस्ताव गरेको सजाय स्वीकार गरेका थिए । खेलाडीहरूले आरोप र सजाय स्वीकार गरेपछि औपचारिक सुनुवाइ आवश्यक परेन ।
मैदानका अम्पायर कालिदास विश्वनाथन र तबारुक दार तथा रिजर्भ अम्पायर विनोद बाबुले तीनै खेलाडीविरुद्ध आरोप दर्ता गराएका थिए । आइसिसीको लेभल–१ आचारसंहिता उल्लंघनमा आधिकारिक चेतावनीदेखि म्याच फीको अधिकतम ५० प्रतिशतसम्म जरिवाना तथा एक वा दुई डिमेरिट अंकको व्यवस्था छ । कुनै खेलाडीको अनुशासन रेकर्डमा २४ महिनाभित्र चार वा सोभन्दा बढी डिमेरिट अंक पुगेमा ती अंक निलम्बन अंकमा परिणत हुन्छन् ।
दुई निलम्बन अंक बराबर एक टेस्ट वा दुई एकदिवसीय अथवा दुई टी–२० खेलको प्रतिबन्ध हुने व्यवस्था छ । डिमेरिट अंक उल्लंघन भएको मितिदेखि २४ महिनासम्म खेलाडीको अनुशासन रेकर्डमा कायम रहन्छ र त्यसपछि स्वतः हट्ने आइसिसीको नियम छ।



