काठमाडौं – रसुवाको भोटेकोशी हुँदै त्रिशूली र नारायणी नदीमा आएको बाढीबाट प्रभावित क्षेत्रमा खोज तथा उद्धार र विपद् व्यवस्थापनका लागि १ हजार ५ सयभन्दा बढी सशस्त्र प्रहरी परिचालन गरिएको छ ।सशस्त्र प्रहरीले प्रभावित क्षेत्रमा विपद् प्रतिकार्य बेस स्थापना गरी भत्किएका संरचनामा खोज तथा उद्धार गर्न दक्ष टोली तथा गोताखोर परिचालन गरेको जनाएको छ । टोलीले विभिन्न संरचना, जलविद्युत् आयोजना तथा बाढी प्रभावित अन्य क्षेत्रमा सम्पर्कविहीन व्यक्तिको खोजी तथा उद्धार कार्यलाई निरन्तरता दिइरहेको छ ।
खोज तथा उद्धार कार्यलाई प्रभावकारी बनाउन सशस्त्र प्रहरीका तालिम प्राप्त कुकुर तथा ६ वटा ड्रोनसमेत परिचालन गरिएको छ । सशस्त्र प्रहरीका सहप्रवक्ता शैलेन्द्र थापाका अनुसार परिचालित टोलीले लोकेट गरिएका १२ स्थानबाट हालसम्म ९८ वटा शव फेला पारेको, ३० जना घाइतेको उद्धार गरेको तथा ७३ जनालाई सकुशल उद्धार गरेको छ । बाढीबाट घाइते भएकाहरूलाई तत्काल प्राथमिक उपचार उपलब्ध गराउन सशस्त्र प्रहरीको चिकित्सकसहितको टोलीले नुवाकोटमा स्वास्थ्य शिविर स्थापना गरी सेवा दिइरहेको छ । त्यस्तै, थप उपचार आवश्यक पर्ने बाढीपीडितका लागि नेपाल एपीएफ अस्पतालमा १०० वटा शय्या तयारी अवस्थामा राखिएको सशस्त्र प्रहरीले जनाएको छ ।
यसैगरी सशस्त्र प्रहरीको विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारमा १०० शय्या क्षमताका कन्टेनर तयार गरी बाढी प्रभावित क्षेत्रमा तत्काल पुर्याउने काम भइरहेको छ । अन्य क्षेत्रमा रहेका कन्टेनरसमेत प्रभावित क्षेत्रतर्फ केन्द्रित गरी परिचालन गरिएको छ । बाढीका कारण ठूलो जनधनको क्षति भएको अवस्थामा सम्पर्कविहीन व्यक्तिको खोजी, घाइतेको उपचार तथा प्रभावित नागरिकको उद्धारलाई तीव्र बनाउन सुरक्षा निकायले थप स्रोतसाधन परिचालन गरिरहेको छ ।



