काठमाडौँ – हाल देशभर मनसुनी वायुको प्रभाव कायमै रहेकाले आज देशका अधिकांश भूभागमा वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास रहेकाले मौसममा बदलीसँगै वर्षा हुने अवस्था बनेको हो । आज दिउँसो देशभर साधारणतया बदली रहनेछ । हिमाली तथा पहाडी भूभागका केही स्थानमा चट्याङसहित मध्यम वर्षा हुने सम्भावना छ । लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका केही स्थान तथा मधेस प्रदेशसहित कोशी, बागमती र गण्डकी प्रदेशका तराई भूभागका थोरै स्थानमा पनि चट्याङसहित मध्यम वर्षा हुन सक्ने महाशाखाले जनाएको छ ।
यस्तै, कोशी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभाग, बागमती र गण्डकी प्रदेशका हिमाली भूभाग तथा लुम्बिनी प्रदेशका पहाडी र तराई भूभागका एक–दुई स्थानमा भारी वर्षा हुने सम्भावना रहेको छ । आज रातिसमेत देशभर सामान्यदेखि पूर्ण बदली रहने अनुमान गरिएको छ । कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भूभागका केही स्थान तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागका थोरै स्थानमा चट्याङसहित मध्यम वर्षा हुन सक्नेछ । त्यस्तै, कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भूभागका धेरै स्थान तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका थोरै स्थानमा समेत चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
तराई क्षेत्रमा पनि वर्षाको सम्भावना कायमै छ । मधेस प्रदेश तथा कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई भूभागका केही स्थान तथा सुदूरपश्चिम प्रदेशका तराई भूभागका थोरै स्थानमा चट्याङसहित मध्यम वर्षा हुन सक्नेछ । राति कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभाग तथा लुम्बिनी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षा हुने सम्भावना रहेको महाशाखाले जनाएको छ ।
लगातारको वर्षाका कारण नदी तथा खोलामा पानीको बहाव बढ्न, पहाडी भूभागमा पहिरो तथा सडक अवरुद्ध हुनसक्ने भएकाले जोखिमयुक्त क्षेत्रमा बसोबास गर्ने तथा यात्रा गर्ने सर्वसाधारणलाई आवश्यक सतर्कता अपनाउन आग्रह गरिएको छ ।



