सभापति रविले बोलाए मन्त्रीसहित बैठक, सांसद तथा मन्त्रीहरूलाई आवश्यक निर्देशन दिने तयारी

काठमाडौं । सरकार र पार्टीका सांसदबीच असमझदारी बढ्दै गएपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले मन्त्रीहरूसहित सांसदसँग अन्तर्क्रिया गर्ने भएको छ । रास्वपाको संसदीय दलको कार्यालयमा आज बिहान ११ बजे हुने अन्तर्क्रियामा पार्टी सभापति रवि लामिछानेले सांसद तथा मन्त्रीहरूलाई आवश्यक निर्देशन दिने तयारी रहेको एक नेताले जानकारी दिए ।

बैठकमा पछिल्लो समय सरकार र पार्टीका सांसदबीच देखिएको असमझदारी, संसद्मा सांसदहरूको प्रस्तुति तथा पार्टीभित्र देखिएका गतिविधिबारे समीक्षा हुने बताइएको छ । संसदीय अनुशासनको विषयमा प्रश्न उठेका सांसदलाई सचेत गराउने तयारीसमेत रहेको ती नेताले बताए । पार्टीका केही सांसदले संसद्मा बोल्दा प्रयोग गर्ने भाषा तथा सार्वजनिक गतिविधिमा संसदीय मर्यादा कायम नगरेको भन्दै रास्वपाभित्र असन्तुष्टि बढ्दै गएको बताइएको छ ।

यसैबीच, मंगलबारको प्रतिनिधिसभा बैठकमा परराष्ट्रमन्त्री शिशिर खनालले दिएको जवाफमा चित्त नबुझेपछि रास्वपा सांसद आशिका तामाङले पुनः प्रश्न गर्न खोजेकी थिइन् । सभामुख डीपी अर्यालले उनलाई संसदीय मर्यादा र गरिमाको ख्याल गर्न सचेत गराउँदै बोल्न समय नदिएपछि तामाङ बैठकबाट बाहिरिएकी थिइन् । उक्त घटनापछि रास्वपाले सांसदहरूको संसद्मा प्रस्तुत हुने शैली, सरकारसँगको समन्वय तथा संसदीय अनुशासनबारे आन्तरिक छलफल गर्न लागेको हो ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्