सांसद सुनार र प्रहरी महानिरीक्षक कार्कीबीचको भनाभनप्रति सभामुखको चासो

 

काठमाडौं । सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले सार्वजनिक लेखा समितिको बैठकमा नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीमाथि गर्नुभएको टिप्पणी र त्यसको जवाफमा कार्कीले व्यक्त गर्नुभएको धारणाप्रति सभामुख डोलप्रसाद अर्यालले चासो व्यक्त गर्नुभएको छ।

बुधबार बसेको सार्वजनिक लेखा समितिको बैठकमा सांसद सुनारले निर्वाचन प्रहरीको पोसाक तथा प्रहरीका सामग्री खरिदमा अनियमितता भएको आरोप लगाउँदै महानिरीक्षक कार्कीमाथि अमर्यादित टिप्पणी गर्नुभएको थियो। उहाँले प्रहरीका विपन्न परिवारका छोराछोरीले प्रयोग गर्ने सामग्री खरिदमा माथिल्लो निकायबाट अनियमितता भइरहेको आरोप लगाउँदै सार्वजनिक खरिदमा हुने अनियमिततालाई फौजदारी अभियोगका रूपमा अघि बढाउनुपर्ने धारणा राख्नुभएको थियो।

सांसद सुनारको टिप्पणीप्रति जवाफ दिँदै महानिरीक्षक कार्कीले निष्ठापूर्वक काम गरिरहेको व्यक्तिलाई समितिमा बोलाएर मनपरी रूपमा टिप्पणी गर्न नहुने बताउँदै आपत्ति जनाउनुभएको थियो। उहाँले समितिमा विषय राख्दा मर्यादा कायम गर्नुपर्नेमा जोड दिनुभएको थियो।

सांसद र प्रहरी महानिरीक्षकबीच बैठकमै भनाभनको अवस्था सिर्जना भएपछि संसदीय समितिको गरिमामाथि प्रश्न उठेको भन्दै सभामुख अर्यालले समिति सभापति भरतबहादुर खड्का, समिति सचिव बबिता मिश्र र संघीय संसद् सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेयसँग छलफल गर्नुभएको छ।

समिति सभापति खड्काका अनुसार छलफलका क्रममा सभामुख अर्यालले जनप्रतिनिधिले संसदीय समितिका बैठकमा संयमित, मर्यादित र शिष्ट ढंगले विषयवस्तुमा केन्द्रित भएर धारणा राख्नुपर्ने आवश्यकता औंल्याउनुभएको छ।

सभामुखको भनाइ उद्धृत गर्दै सभापति खड्काले भन्नुभयो, “मर्यादित, संयम र शिष्ट भएर विषयवस्तुभित्र रहेर सांसदहरूले धारणा राख्नु उपयुक्त हुन्छ।”

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्