सुनसरी र सिरहाका प्रदर्शनमा ज्यान गुमाएका ४ जनालाई शहीद घोषणा

 

काठमाडौं । सरकारले सुनसरी र सिरहामा भएका प्रदर्शन तथा झडपमा ज्यान गुमाएका चार जनालाई शहीद घोषणा गर्ने निर्णय गरेको छ।

बुधबार बसेको मन्त्रिपरिषद् बैठकले सुनसरीका ओमप्रकाश मेहता, जयप्रकाश मेहता र रविन्द्रकुमार मेहता तथा सिरहाका गणेशकुमार यादवलाई शहीद घोषणा गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले जानकारी दिनुभयो।

साउन १० गते साँझ सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा भएको झडपमा ओमप्रकाश मेहताको घटनास्थलमै मृत्यु भएको थियो भने जयप्रकाश मेहता र रविन्द्रकुमार मेहताको उपचारका क्रममा ज्यान गएको थियो। सुनसरीको घटनापछि विभिन्न जिल्लामा फैलिएको तनावका क्रममा साउन ११ गते सिरहाको गोलबजारमा भएको झडपमा गणेशकुमार यादवको मृत्यु भएको थियो।

यसैगरी, सरकारले नेपालभित्र आयात वा उत्पादन हुने विद्युत्बाट सञ्चालित एम्बुलेन्स तथा शववाहनमा लाग्ने करमा छुट दिने निर्णय गरेको छ। बैठकले त्यस्ता एम्बुलेन्स र शववाहनमा स्वच्छ पूर्वाधार लगानी शुल्क तथा मूल्य अभिवृद्धि कर (भ्याट) पूर्ण रूपमा छुट दिने निर्णय गरेको मन्त्री पोखरेलले जानकारी दिनुभयो।

बैठकले पूर्वमहालेखापरीक्षक टंकमणि शर्मा दंगालको संयोजकत्वमा गठित एनसेलको शेयर खरिद–बिक्रीसम्बन्धी अध्ययन तथा छानबिन प्रतिवेदन, २०८० सार्वजनिक गर्ने निर्णयसमेत गरेको छ।

त्यस्तै, सरकारले वैदेशिक रोजगार बोर्डको कार्यकारी निर्देशकमा बाराका निर्मलकुमार उप्रेतीलाई नियुक्त गर्ने निर्णय गरेको छ।

सरकारले पोर्चुगल सरकारलाई काठमाडौंमा काउन्सिलर कार्यालय खोल्न सहमति दिने निर्णय पनि गरेको मन्त्री पोखरेलले जानकारी दिनुभयो।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्