काठमाडौं । अहिले कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका विभिन्न ठाउँमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार गएराति काठमाडौं उपत्यकासहित देशका धेरै ठाउँमा वर्षा भएको छ।
पछिल्लो तीन घण्टामा सबैभन्दा धेरै इलाममा ६७ मिलिमिटर वर्षा मापन भएको महाशाखाले जनाएको छ। पछिल्लो समय विशेषगरी कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा वर्षा केन्द्रित भएको छ।
महाशाखाका अनुसार आज कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भू–भागका साथै कर्णाली प्रदेशको पहाडी भू–भाग र लुम्बिनी प्रदेशको पहाडी तथा तराई भू–भागका एक–दुई स्थानमा ठूलो वर्षाको सम्भावना छ। रातिको समयमा कोशी, गण्डकी र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराई भू–भाग र बागमती प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा ठूलो वर्षा हुनसक्ने अनुमान गरिएको छ। यस्तो अवस्था भोलिसम्म रहने सम्भावना भए पनि अत्यधिक ठूलो वर्षा हुने सम्भावना नरहेको महाशाखाले जनाएको छ।
मौसमविद् उज्ज्वल उपाध्यायका अनुसार अबका केही दिन तराई क्षेत्रमा वर्षा कम हुँदै गर्मी बढ्ने सम्भावना छ। काठमाडौं उपत्यकासहित पहाडी क्षेत्रमा बदली भइरहे पनि ठूलो वर्षाको सम्भावना नरहेको उहाँले सामाजिक सञ्जालमार्फत जानकारी दिनुभएको छ।
ठूलो वर्षाको सम्भावना नरहेकाले बाढी तथा पहिरोको जोखिम तुलनात्मक रूपमा कम भए पनि लामो दूरीको यात्रा गर्दा तथा निर्माणसम्बन्धी काम गर्दा मौसमको अवस्था हेरेर मात्रै अघि बढ्न मौसमविद् उपाध्यायले सुझाव दिनुभएको छ।



