काठमाडौं – नेपाल-चीन व्यापारको प्रमुख प्रवेशद्वार तातोपानी नाका तीन साताभन्दा लामो समयदेखि अवरुद्ध हुँदा दुई देशबीचको वैदेशिक व्यापार प्रभावित भएको छ।
विभिन्न स्थानमा गएको पहिरोका कारण सडक अवरुद्ध भएपछि तातोपानी नाका हुँदै हुने मालवस्तुको आयात-निर्यात ठप्पजस्तै भएको तातोपानी भन्सार कार्यालयले जनाएको छ।
तातोपानी भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत दीपेन्द्रप्रकाश गिरीका अनुसार सडक अवरुद्ध भएकाले चीनतर्फबाट मालवाहक सामान बोकेका कन्टेनरसमेत नेपाल प्रवेश गर्न सकेका छैनन्।
“नाकामा सडक अवरुद्ध भएकाले चीनतर्फबाट मालवाहक सामानसहितका कन्टेनर पनि भित्रिन सकिरहेका छैनन्,” गिरीले भन्नुभयो, “सडक कहिलेदेखि सञ्चालन हुने अहिलेसम्म कुनै टुङ्गो लागेको छैन।”
नाका लामो समयदेखि बन्द रहँदा नेपाल–चीन व्यापारसँगै व्यवसायी तथा आयातकर्तासमेत प्रभावित भएका छन्। सडक सञ्चालनमा नआएसम्म तातोपानी नाकाबाट हुने व्यापार पूर्ववत् रूपमा सञ्चालन गर्न कठिन हुने देखिएको छ।



