कांग्रेस असन्तुष्ट पक्षको भेलालाई शेरबहादुर देउवाले सम्बोधन गर्ने

 

काठमाडौं । नेपाली कांग्रेसको असन्तुष्ट पक्षले आगामी २९ देखि ३१ साउनसम्म आयोजना गर्न लागेको राष्ट्रिय भेलालाई पार्टीका पूर्वसभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले सम्बोधन गर्ने भएका छन्।

कांग्रेस नेता डा. शशांक कोइरालाले शुक्रबार चुनदेवीस्थित सम्पर्क कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा देउवाले भेलालाई सम्बोधन गर्ने जानकारी दिएका हुन्। उनका अनुसार पार्टीको आधिकारिकतासम्बन्धी विवादमा सर्वोच्च अदालतले पुनरवलोकनका लागि अनुमति दिएपछि कांग्रेस कार्यकर्तामा थप उत्साह बढेको छ।

कोइरालाले पूर्वसभापति देउवाका तर्फबाट दायर न्यायिक पुनरवलोकनको निवेदनमा सर्वोच्च अदालतले २१ साउन २०८३ मा पुनरवलोकनको अनुमति दिएको बताए। उनले सर्वोच्चको निर्णयको स्वागत गर्दै आगामी न्यायिक निरूपणबाट पार्टीले न्याय पाउने विश्वास व्यक्त गरे।

उनले सर्वोच्चको पछिल्लो निर्णयले राष्ट्रिय भेलाको कार्यदिशामा कुनै परिवर्तन नल्याउने दाबी गर्दै भेलामा अपेक्षाभन्दा ठूलो सहभागिता हुने बताए। यसअघि १० देखि २० हजारसम्मको सहभागिता हुने अनुमान गरिएकोमा अदालतको निर्णयपछि पार्टी पंक्तिमा सकारात्मक सन्देश गएको उनको भनाइ छ।

कोइरालाले राष्ट्रिय भेला पार्टीलाई वैचारिक र सांगठनिक रूपमा एकताबद्ध बनाउने महत्वपूर्ण अवसर हुने बताए। उनले पूर्वमहामन्त्री पूर्णबहादुर खड्का अस्वस्थ रहेका र नेता डा. शेखर कोइराला विराटनगरमा व्यस्त रहेकाले कार्यक्रममा उपस्थित हुन नसके पनि अभियानप्रति उनीहरूको पूर्ण समर्थन र ऐक्यबद्धता रहेको स्पष्ट पारे।

पूर्वसभापति देउवा २६ साउनमा स्वदेश फर्कने सन्दर्भमा उठेका आशंकाबारे कोइरालाले कुनै पनि प्रकारको धरपकड हुने सम्भावना नरहेको बताए। यदि त्यस्तो प्रयास भए पार्टीले कडा प्रतिवाद गर्ने उनको चेतावनी छ। उनले आफू देउवालाई भेट्न हङकङ नगएको समेत स्पष्ट पारे।

कोइरालाले कांग्रेसका भ्रातृ संस्था, शुभेच्छुक संस्था तथा सम्पूर्ण कार्यकर्तालाई राष्ट्रिय भेलामा सहभागी हुन आह्वान गर्दै राष्ट्रियता, लोकतन्त्र र समाजवादका सिद्धान्तमा आधारित भएर पार्टीलाई नयाँ दिशामा अघि बढाउने प्रतिबद्धता व्यक्त गरे।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्