काठमाडौं – नेपालको पर्यटन उद्योगलाई केवल व्यवसायका रूपमा नभई राष्ट्रको आर्थिक समृद्धिको आधारका रूपमा हेर्ने पर्यटन व्यवसायी हुन् रामसुन्दर बके। होटल तथा रिसोर्ट व्यवसायमा सफल पहिचान बनाइसकेका बकेले आफ्नो लगानीलाई नाफामुखी व्यवसायमा मात्र सीमित नराखी नेपालको पर्यटन प्रवर्द्धनमा निरन्तर योगदान दिँदै आएका छन्।
भक्तपुरको रमणीय रानीकोटमा सञ्चालित भिलेज हाइल्याण्ड रिसोर्टका सञ्चालक बकेले प्राकृतिक सौन्दर्य, स्थानीय संस्कृति र आतिथ्यलाई आधुनिक पर्यटनसँग जोड्ने प्रयास गर्दै आएका छन्। उनका रिसोर्टहरूले आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्दै स्थानीय रोजगारी सिर्जना र ग्रामीण पर्यटन प्रवर्द्धनमा पनि उल्लेखनीय भूमिका खेलेका छन्।
व्यवसायी बकेको विशेषता भनेको उनी आफ्नो व्यवसायको प्रचारमा मात्र सीमित नहुनु हो। समय मिल्नेबित्तिकै उनी नेपालको विभिन्न पर्यटकीय गन्तव्यहरूको भ्रमणमा निस्कन्छन्। हिमालदेखि पहाड र तराईसम्मका नयाँपुराना गन्तव्यहरू पुगेर त्यहाँको प्राकृतिक सौन्दर्य, धार्मिक तथा सांस्कृतिक सम्पदा, स्थानीय जीवनशैली र पर्यटकीय सम्भावनालाई आफ्नो मोबाइल क्यामेरामा कैद गर्छन्।
उनले सामाजिक सञ्जालमार्फत ती दृश्यहरू सार्वजनिक गर्दै नेपालीहरूलाई आफ्नै देश घुम्न प्रेरित गरिरहेका छन्। उनका भिडियो र तस्बिरहरूले धेरैलाई नयाँ गन्तव्य चिनाउन मद्दत पुर्याएको छ भने स्थानीय पर्यटन प्रवर्द्धनमा पनि सकारात्मक प्रभाव पारेको छ। “नेपाल घुमौँ, नेपाल चिनौँ” भन्ने सन्देशलाई व्यवहारमै उतार्दै उनी पर्यटन प्रवर्द्धनका अनौपचारिक दूतका रूपमा परिचित बन्दै गएका छन्।

पर्यटन व्यवसायी बकेको बुझाइमा नेपालको पर्यटन क्षेत्रको विकास केवल सरकारको प्रयासले मात्र सम्भव छैन। निजी क्षेत्र, स्थानीय समुदाय र पर्यटनसँग सम्बन्धित सबै पक्षले संयुक्त रूपमा काम गर्न सके नेपालको पर्यटनलाई विश्व बजारमा अझ सशक्त रूपमा स्थापित गर्न सकिने उनको विश्वास छ। त्यसैले उनी पर्यटन पूर्वाधार, सेवा गुणस्तर, स्वच्छता, वातावरण संरक्षण र गन्तव्यहरूको प्रवर्द्धनमा पनि निरन्तर आवाज उठाइरहेका छन्।
नेपालमा अपार प्राकृतिक, धार्मिक, सांस्कृतिक र साहसिक पर्यटनका सम्भावना रहेको उल्लेख गर्दै बके पर्यटनलाई आर्थिक समृद्धिको प्रमुख आधार बनाउनुपर्ने बताउँछन्। पर्यटनमा गरिएको लगानीले रोजगारी सिर्जना, स्थानीय उत्पादनको बजारीकरण र समग्र अर्थतन्त्रलाई चलायमान बनाउन ठूलो योगदान दिने उनको धारणा छ।
व्यवसायी भएर पनि केवल आफ्नो होटल र रिसोर्टको सफलताभन्दा देशको पर्यटन क्षेत्र कसरी उकास्न सकिन्छ भन्ने चिन्तामा निरन्तर सक्रिय रहने रामसुन्दर बके अहिले धेरै पर्यटन व्यवसायीका लागि प्रेरणाको स्रोत बनेका छन्। नेपालको सुन्दरतालाई विश्वसामु चिनाउने उनको अभियानले निजी क्षेत्रको सक्रिय सहभागितामार्फत पर्यटन प्रवर्द्धन गर्न सकिन्छ भन्ने सन्देश पनि दिएको छ।

रामसुन्दर बके विभिन्न राष्ट्रिय, प्रादेशिक तथा स्थानीय व्यावसायिक, पर्यटन र विकाससम्बन्धी संस्थामा नेतृत्वदायी तथा नीतिगत भूमिकामा सक्रिय रूपमा आबद्ध रहँदै आउनुभएको छ। उहाँ नेपाल उद्योग व्यापार महासंघका केन्द्रीय सदस्य तथा उपाध्यक्ष, नेपाल उद्योग व्यापार महासंघ, भक्तपुरका अध्यक्ष, नेपाल जग्गा तथा आवास विकास संघका केन्द्रीय सदस्य तथा पूर्व नीति निर्माण संयोजक, टिभी टुडे टेलिभिजनको सल्लाहकार, नेपाल ल्याण्ड एन्ड हाउजिङ डेभलपर्स फेडेरेशन (NLHDF)का सचिव, नेपाल पर्यटन बोर्डको आन्तरिक पर्यटन पुनरुत्थान समिति (बागमती प्रदेश)का सदस्य, नेपाल इक्वेस्ट्रियन एसोसिएसनका केन्द्रीय सदस्य तथा जे.भी. फाउन्डेसन, बागमती प्रदेशका अध्यक्ष हुनुहुन्छ। साथै उहाँ भिलेज हाइल्याण्ड रिसोर्ट प्रालि, भिलेज सिटी प्रालि र ए.आर. ल्याण्ड डेभलपर्स प्रालिका अध्यक्ष हुनुहुन्छ। यसैगरी पर्यटन प्रवर्द्धनका क्षेत्रमा उहाँले दैलेखको आठबिस नगरपालिका र उदयपुरको लिम्चुङबुङ गाउँपालिकाका र कालिकोटको पलाता गाउँपालिकाको पर्यटन सल्लाहकारका रूपमा समेत योगदान दिइसक्नुभएको छ। यसका साथै उहाँ होटल एसोसिएसन नेपाल (HAN) बागमती प्रदेशका पूर्व अध्यक्ष, पनौती नगरपालिका पर्यटन विकास समितिका पूर्व सदस्य तथा ह्याप्पी ल्याण्ड बीच एन्ड रिसोर्टका सञ्चालकका रूपमा पनि जिम्मेवारी निर्वाह गरिसक्नुभएको छ। यसैगरी गौरीशंकर ग्रामीण होमस्टे, दोलखाको सल्लाहकार लगायत विभिन्न संस्थामा रहेको उहाँको सक्रिय सहभागिताले नेपालको पर्यटन, होटल उद्योग, व्यवसाय, आवास विकास तथा निजी क्षेत्रको सुदृढीकरणमा महत्वपूर्ण योगदान पुर्याउँदै आएको छ।




