काठमाडौं – सर्लाहीको बागमती म्युनिसिपल पार्क तथा रिसोर्ट निर्माणमा अनियमितता गरेको आरोपमा मधेश प्रदेशका पूर्वअर्थमन्त्री शैलेन्द्रप्रसाद साहसहित सात जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।
अख्तियारले पूर्वअर्थमन्त्री साह, तत्कालीन अर्थसचिव गजेन्द्रकुमार ठाकुर, बागमती नगरपालिकाका मेयर भरतकुमार थापा, उपमेयर लीलाकुमारी मोक्तान, प्रमुख प्रशासकीय अधिकृत विमलकुमार पोखरेल, अर्थ मन्त्रालयका तत्कालीन उपसचिव उद्धवराज न्यौपाने तथा निर्माण कम्पनी बिकोई धुलिखेल जेभीका प्रतिनिधि युवराज पोखरेललाई प्रतिवादी बनाएको हो।
आयोगले उक्त आयोजनामा ३९ करोड ३९ लाख रुपैयाँ बराबरको भ्रष्टाचार भएको दाबी गर्दै पूर्वअर्थमन्त्री साह र तत्कालीन सचिव ठाकुरसँग ३५ करोड रुपैयाँ बिगो माग गरेको छ। साथै मेयर, उपमेयर र प्रमुख प्रशासकीय अधिकृतमाथि ३९ करोड ३९ लाख रुपैयाँ बराबरको सरकारी हानि–नोक्सानी पुर्याएको आरोप लगाइएको छ।



