काठमाडौं – नेपालले आर्थिक वर्ष २०८२/८३ मा भारत र बङ्गलादेशलाई बिजुली निर्यात गरेर २९ अर्ब ३२ करोड रुपैयाँ आम्दानी गरेको छ। नेपाल विद्युत् प्राधिकरणका अनुसार अघिल्लो आर्थिक वर्षको तुलनामा बिजुली निर्यातबाट भएको आम्दानी ६८ प्रतिशतले वृद्धि भएको हो। आर्थिक वर्ष २०८१/८२ मा नेपालले १७ अर्ब ४५ करोड ८७ लाख रुपैयाँ बराबरको बिजुली निर्यात गरेको थियो।
गत आर्थिक वर्षमा नेपालले ३ अर्ब ८७ करोड युनिटभन्दा बढी बिजुली भारतीय खुला बजार तथा बङ्गलादेशसँगको त्रिपक्षीय व्यापारमार्फत औसत ७ रुपैयाँ ५६ पैसाप्रति युनिटका दरले बिक्री गरेको प्राधिकरणले जनाएको छ।
यता, भारतबाट हुने बिजुली आयात घटेर १० अर्ब ५५ करोड रुपैयाँमा सीमित भएको छ। निर्यात बढ्दै र आयात घट्दै जाँदा नेपालले बिजुली व्यापारबाट मात्रै १८ अर्ब ७६ करोड रुपैयाँ खुद नाफा कमाएको छ। अघिल्लो आर्थिक वर्षमा यस्तो खुद बचत ४ अर्ब ५३ करोड ५७ लाख रुपैयाँ रहेकोमा यस वर्ष ३१३ प्रतिशतले वृद्धि भएको प्राधिकरणले जनाएको छ।



