काठमाडौं । लगातारको वर्षापछि आएको बाढी र पहिरोले देशका पाँच प्रदेशका दर्जनौँ सडक तथा राजमार्ग प्रभावित भएका छन्। नेपाल प्रहरी र सडक विभागका अनुसार कतिपय सडक पूर्ण रूपमा अवरुद्ध भएका छन् भने केही स्थानमा एकतर्फी मात्र सवारी सञ्चालन भइरहेको छ।
कोशी प्रदेशमा भोजपुरको मध्यपहाडी लोकमार्ग बाढीका कारण एकतर्फी सञ्चालनमा रहेको छ। इलामको मेची राजमार्ग र खोटाङको दिक्तेल–रुपाकोट खण्डस्थित मध्यपहाडी लोकमार्ग पहिरोका कारण पूर्ण रूपमा बन्द भएका छन्। इलाममा भने वैकल्पिक मार्ग प्रयोग गरिएको छ। बागमती प्रदेशमा विपद्को जोखिम बढेपछि काभ्रेस्थित बिपी राजमार्गमा साँझ ६ बजेदेखि बिहान ४ बजेसम्म सवारी सञ्चालन रोकिएको छ। कान्ति लोकपथमा पनि बेलुका ५ बजेदेखि बिहान ५ बजेसम्म सवारी आवागमन निषेध गरिएको छ। सिन्धुपाल्चोकको अरनिको राजमार्गको जिरोकिलो र कोदारी क्षेत्रमा पहिरो खस्दा सडक पूर्ण रूपमा बन्द छ भने दोलखाको लामासाँघु–रामेछाप सडकखण्ड पनि बाढीका कारण अवरुद्ध भएको छ।
गण्डकी प्रदेशमा बागलुङको कालीगण्डकी करिडोर, लमजुङको बेंसीसहर–मनाङ सडकखण्ड र म्याग्दीको बेनी–जोमसोम सडकखण्ड पहिरोका कारण पूर्ण रूपमा बन्द हुँदा यातायात सेवा ठप्प भएको छ। कर्णाली प्रदेशको रुकुम पश्चिममा भेरी करिडोर (जाजरकोट–डोल्पा सडकखण्ड) बाढीका कारण अवरुद्ध छ। सुदूरपश्चिम प्रदेशको डडेलधुरास्थित के.आई. सिंह राजमार्गमा पहिरो खसे पनि हाल एकतर्फी रूपमा सवारी सञ्चालन भइरहेको प्रहरीले जनाएको छ।
निरन्तर वर्षा भइरहेकाले थप बाढी र पहिरोको जोखिम कायम रहेको भन्दै सुरक्षा निकायले अत्यावश्यक कामबाहेक यात्रा नगर्न तथा यात्रा गर्नैपरे नजिकको प्रहरी कार्यालय वा सडक विभागबाट सडकको अवस्थाबारे जानकारी लिएर मात्र यात्रा गर्न आग्रह गरेका छन्।




