काठमाडौं – देशका विभिन्न जिल्लामा फैलिएको बर्डफ्लु संक्रमण अहिले नियन्त्रणमा आएको छ। पशु सेवा विभागका अनुसार साउन १ गतेयता देशको कुनै पनि स्थानमा नयाँ संक्रमण पुष्टि भएको छैन। विभागका महानिर्देशक डा. उमेश दाहालले संक्रमण पूर्णरूपमा नियन्त्रणमा रहेको जानकारी दिएका छन्। पछिल्लो पटक काठमाडौंको गोकर्णेश्वर-१ सुन्दरीजलमा संक्रमण देखिएको थियो। त्यसपछि जोखिम न्यूनीकरणका लागि संक्रमित क्षेत्र वरपरबाट नमुना संकलन गरी प्रयोगशाला परीक्षणलाई निरन्तरता दिइएको विभागले जनाएको छ।
यस वर्ष मोरङसहित ११ जिल्लामा फैलिएको संक्रमण नियन्त्रणका क्रममा सरकारले ८ लाख ३५ हजारभन्दा बढी पन्छी, ११ लाख ६५ हजारभन्दा बढी अण्डा र २ लाख ४५ हजार किलोभन्दा बढी दाना नष्ट गरेको थियो। प्रभावित १०४ किसान तथा फार्मलाई हालसम्म करिब ५० करोड ७१ लाख रुपैयाँ क्षतिपूर्ति वितरण गरिएको विभागले जनाएको छ। विभागका अनुसार सरकारको सक्रियता, नियमित परीक्षण र किसानको सहयोगका कारण संक्रमण नियन्त्रणमा आएको हो। बर्डफ्लुको जोखिम घटेसँगै बजारमा कुखुराको मासु र अण्डाको माग तथा कारोबार पनि पुनः सामान्य अवस्थामा फर्किन थालेको छ।



