काठमाडौं । नेसनल प्याब्सन (National Private and Boarding Schools’ Association Nepal) काठमाडौं जिल्ला कार्यसमितिले हालै सार्वजनिक गरिएको चलचित्र ‘मास्टर्नी’को गीतप्रति गम्भीर आपत्ति जनाएको छ। संस्थाले गीतमा शिक्षक, विशेषगरी महिला शिक्षक (गुरुआमा) को गरिमा र शिक्षण पेसाको सम्मानमा आँच पुग्ने शब्द, दृश्य तथा प्रस्तुतीकरण समावेश गरिएको भन्दै सार्वजनिक विज्ञप्तिमार्फत विरोध जनाएको हो।
संस्थाले शिक्षक समाजमा नैतिकता, अनुशासन, संस्कार र जिम्मेवार नागरिक निर्माण गर्ने महत्वपूर्ण भूमिका निर्वाह गर्ने व्यक्तित्व भएकाले उनीहरूको मर्यादामा चोट पुग्ने कुनै पनि सिर्जनालाई स्वीकार गर्न नसकिने स्पष्ट पारेको छ। विज्ञप्तिमा गीतमा शिक्षक पात्रलाई प्रस्तुत गरिएको शैली, प्रयोग गरिएका शब्द र दृश्यहरूले सम्पूर्ण शिक्षक समुदायको आत्मसम्मानमा चोट पुर्याएको उल्लेख गरिएको छ। साथै, यसले विद्यार्थी, अभिभावक र समाजमा शिक्षकप्रति नकारात्मक धारणा विकास गराउन सक्ने भन्दै चिन्ता व्यक्त गरिएको छ।
नेसनल प्याब्सन काठमाडौंले सम्बन्धित गीतका निर्माता, निर्देशक, कलाकार तथा सरोकारवालालाई गीतमा रहेका शिक्षकको सम्मानमा आँच पुग्ने सम्पूर्ण शब्द, दृश्य र प्रस्तुतीकरण तत्काल सच्याउन, आपत्तिजनक अंश हटाउन तथा सम्पूर्ण शिक्षक समुदायसँग सार्वजनिक रूपमा क्षमायाचना गर्न आग्रह गरेको छ। संस्थाले सिर्जनात्मक स्वतन्त्रताको सम्मान गरिए पनि त्यसको नाममा समाजका सम्मानित पेसा र व्यक्तित्वको गरिमामा आँच पुर्याउने छुट कसैलाई नहुने स्पष्ट पारेको छ।
विज्ञप्तिमा आफ्ना मागप्रति गम्भीर ध्यान नदिइए शिक्षकको गरिमा, शिक्षण पेसाको प्रतिष्ठा र विद्यालयमैत्री वातावरणको संरक्षणका लागि सम्बन्धित निकायसँग समन्वय गरी आवश्यक संस्थागत तथा कानुनी प्रक्रिया अघि बढाइने चेतावनीसमेत दिइएको छ। नेसनल प्याब्सन काठमाडौंले शिक्षक, अभिभावक, विद्यार्थी, सञ्चारमाध्यम तथा सम्पूर्ण सरोकारवालालाई शिक्षकको सम्मान, शिक्षण पेसाको गरिमा र नेपाली समाजका उच्च मूल्य–मान्यताको संरक्षणमा ऐक्यबद्धता जनाउन पनि अपिल गरेको छ।




