काठमाडौं – नेपाली कांग्रेसको संस्थापन इतर पक्षले पार्टीभित्र देखिएको आन्तरिक विवाद, संगठनात्मक अवस्था र समसामयिक राजनीतिक विषयमा छलफल गर्न साउन महिनाभित्र काठमाडौंमा राष्ट्रिय भेला आयोजना गर्ने घोषणा गरेको छ। काठमाडौंको चुनदेवीमा आयोजित पत्रकार सम्मेलनमा इतर समूहले पार्टीभित्र एकता कायम गर्न पटक–पटक प्रयास गरिए पनि नेतृत्व पक्षबाट त्यसको सकारात्मक सम्बोधन हुन नसकेको आरोप लगाएको छ। नेतृत्वले एकलौटी ढंगले अघि बढ्न खोजेकाले पार्टीभित्रको विवाद थप गहिरिएको उनीहरूको निष्कर्ष छ।
इतर पक्षले पार्टीमा देखिएको ‘नियमित कि विशेष महाधिवेशन’ सम्बन्धी विवादले कांग्रेसलाई विभाजनउन्मुख अवस्थामा पुर्याएको जनाएको छ। साथै निर्वाचन आयोग र सर्वोच्च अदालतका पछिल्ला निर्णयप्रति असन्तुष्टि जनाउँदै ती निर्णयलाई विधिको शासनविपरीत रहेको दाबी पनि गरेको छ। यद्यपि, पार्टी एकताको सम्भावना अझै कायम रहेको भन्दै उपसभापति विश्वप्रकाश शर्मामार्फत आएको प्रस्तावमा छलफल भइरहेको इतर पक्षले जनाएको छ। उनीहरूले गगन थापा नेतृत्वको केन्द्रीय कार्यसमितिलाई पूर्णता दिने, १५औँ महाधिवेशनको कार्यतालिका सार्वजनिक गर्ने तथा क्रियाशील सदस्यता सम्बन्धी विवाद समाधान गर्ने विषयमा सहमति जुट्न सक्ने विश्वास व्यक्त गरेका छन्।
यसैबीच, बैठकले कांग्रेसका संस्थापक नेता विश्वेश्वरप्रसाद (बीपी) कोइरालाको ४४औँ स्मृति दिवस साउन ६ गते काठमाडौंस्थित प्रज्ञा प्रतिष्ठानमा भव्य रूपमा मनाउने निर्णय पनि गरेको छ। इतर पक्षका नेता मीनबहादुर विश्वकर्माका अनुसार स्मृति दिवस कार्यक्रम व्यवस्थापनका लागि पूर्वउपसभापति प्रकाशमान सिंहको संयोजकत्वमा आयोजक समिति गठन गरिएको छ। सोही कार्यक्रममा राष्ट्रिय भेलाको मिति र स्थान पनि सार्वजनिक गरिने जनाइएको छ।



