नेपाललाई दक्षिण एसियाकै अन्तरिक्ष अनुसन्धान केन्द्र बनाउन सकिन्छ: डा. गोपाल भट्ट

काठमाडौं । अन्तर्राष्ट्रिय खगोल वैज्ञानिक डा. गोपाल भट्टले नेपाल सरकारसँग सहकार्य गर्दै देशमै अत्याधुनिक अन्तरिक्ष अनुसन्धान केन्द्र स्थापना गर्न तथा विज्ञान–प्रविधिको क्षेत्रमा उल्लेखनीय वैदेशिक लगानी भित्र्याउन सकिने प्रस्ताव अघि सार्नुभएको छ। उहाँले स्पष्ट सरकारी नीति, प्रशासनिक सहजीकरण र दीर्घकालीन प्रतिबद्धता भए नेपाललाई दक्षिण एसियाको उदीयमान अन्तरिक्ष अनुसन्धान केन्द्रका रूपमा विकास गर्न सकिने बताउनुभएको हो।

हाल पोल्याण्डस्थित Jagiellonian University मा वैज्ञानिकका रूपमा कार्यरत डा. भट्टका अनुसार नेपालको हिमाली तथा उच्च पहाडी क्षेत्र स्वच्छ आकाश, न्यून प्रकाश प्रदूषण र अनुकूल भौगोलिक अवस्थाका कारण विश्वस्तरीय खगोलीय अनुसन्धानका लागि अत्यन्त उपयुक्त छन्। आधुनिक टेलिस्कोप जडान तथा अन्तरिक्ष अनुसन्धान केन्द्र स्थापनासम्बन्धी प्रारम्भिक सम्भाव्यता अध्ययनसमेत सम्पन्न भइसकेको उहाँले जानकारी दिनुभयो।

ब्ल्याकहोल, ब्लेजर तथा उच्च-ऊर्जा खगोल भौतिकशास्त्रका क्षेत्रमा अनुसन्धानरत डा. भट्टले नासा (NASA) र युरोपियन स्पेस एजेन्सी (ESA) का अत्याधुनिक टेलिस्कोपबाट प्राप्त तथ्याङ्क प्रयोग गर्दै अन्तर्राष्ट्रिय वैज्ञानिक समुदायसँग सहकार्य गरिरहनुभएको छ। विभिन्न अन्तर्राष्ट्रिय अनुसन्धान परियोजनामा सक्रिय सहभागिता जनाउँदै उहाँले नेपाली वैज्ञानिकको पहिचान विश्वमञ्चमा स्थापित गरिरहनुभएको छ।

हालै नेपाल भ्रमणका क्रममा उहाँले अन्तरिक्ष अनुसन्धान केन्द्र स्थापना हुन सके नेपालको विज्ञान, प्रविधि तथा उच्च शिक्षाको क्षेत्रमा ऐतिहासिक उपलब्धि हासिल गर्न सकिने विश्वास व्यक्त गर्नुभयो। यस्तो केन्द्रले नेपाली विद्यार्थी, अनुसन्धानकर्ता तथा विश्वविद्यालयलाई स्वदेशमै अन्तर्राष्ट्रियस्तरको अनुसन्धान गर्ने अवसर उपलब्ध गराउनुका साथै अत्याधुनिक प्रविधि र विश्वव्यापी अनुसन्धान सञ्जालसँग जोड्ने उहाँको भनाइ छ।

विदेशमा रहेका नेपाली वैज्ञानिक, अनुसन्धानकर्ता तथा विज्ञहरूसँग पर्याप्त ज्ञान, अनुभव, प्रविधि, अन्तर्राष्ट्रिय पहुँच र आर्थिक स्रोत रहेको उल्लेख गर्दै उहाँले सरकारले सहकार्यको वातावरण निर्माण गरे ती सम्पूर्ण स्रोत नेपालकै विकासमा परिचालन गर्न सकिने बताउनुभयो।

“नेपाल हाम्रो मातृभूमि हो। त्यसैले यसको समृद्धिमा योगदान गर्नु हाम्रो कर्तव्य र दायित्व दुवै हो। युरोप र अमेरिकामा बसेर हामीले विज्ञान, प्रविधि र अनुसन्धानका क्षेत्रमा ठूलो काम गरेका छौँ। आज हामीसँग बलियो अन्तर्राष्ट्रिय नेटवर्क, प्रविधि, अनुभव र पूँजी छ। अब यी सबै स्रोत नेपालकै विकासका लागि प्रयोग गर्न चाहन्छौँ,” डा. भट्टले भन्नुभयो।

उहाँले अन्तरिक्ष अनुसन्धान केन्द्र स्थापना मात्र नभई नेपालमै उच्चस्तरीय रोजगारी सिर्जना गर्ने, युवा वैज्ञानिकलाई स्वदेशमै अवसर उपलब्ध गराउने तथा ज्ञान, अनुसन्धान र नवप्रवर्तनमा आधारित अर्थतन्त्र निर्माणमा योगदान पुर्‍याउने लक्ष्य रहेको बताउनुभयो।

डा. भट्टका अनुसार यस्तो केन्द्र स्थापना भए अन्तर्राष्ट्रिय विश्वविद्यालय, अनुसन्धान संस्था तथा निजी क्षेत्रसँगको साझेदारीमार्फत उल्लेखनीय वैदेशिक लगानी भित्र्याउन सकिनेछ। साथै उच्च प्रविधि, अनुसन्धान संस्कृति, वैज्ञानिक पूर्वाधार र अन्तर्राष्ट्रिय सहकार्य विस्तार हुँदै नेपाल ज्ञानमा आधारित अर्थतन्त्रतर्फ अघि बढ्ने विश्वास उहाँले व्यक्त गर्नुभयो।

उहाँले विज्ञान तथा प्रविधिलाई राष्ट्रिय विकासको प्रमुख आधारका रूपमा स्थापित गर्न स्पष्ट नीति, दीर्घकालीन लगानी, प्रशासनिक सहजीकरण र राजनीतिक प्रतिबद्धता आवश्यक रहेको उल्लेख गर्दै अनुकूल वातावरण निर्माण गर्न सके नेपालले दक्षिण एसियामा अन्तरिक्ष अनुसन्धान, वैज्ञानिक नवप्रवर्तन र उच्च प्रविधिको क्षेत्रमा महत्वपूर्ण पहिचान बनाउन सक्ने धारणा राख्नुभयो।

विदेशमा रहेका नेपाली वैज्ञानिकहरूको ज्ञान, अनुभव र अन्तर्राष्ट्रिय पहुँचलाई राष्ट्रिय विकासमा जोड्ने विषयमा बहस भइरहेका बेला डा. गोपाल भट्टले अघि सारेको यो प्रस्तावलाई नेपालको विज्ञान–प्रविधि क्षेत्रका लागि दीर्घकालीन महत्वको पहलका रूपमा हेरिएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्