काठमाडौं – नेपाल व्यापार संघले पत्रकारिता क्षेत्रमार्फत व्यापार, व्यवसाय र निजी क्षेत्रका मुद्दालाई निरन्तर रूपमा उठान गर्दै आएको योगदानको कदर गर्दै उपहार खबरका सञ्चालक तथा सम्पादक रामदत्त मिश्रलाई सम्मान गरेको छ। संघको ३३औँ वार्षिक साधारण सभा तथा १७औँ अधिवेशनको अवसरमा मिश्रलाई सम्मान–पत्र प्रदान गरिएको हो।
संघका अनुसार मिश्रले सत्य, तथ्यपरक तथा जिम्मेवार पत्रकारितामार्फत व्यापार, व्यवसाय, उद्योग तथा निजी क्षेत्रका हक, हित र अधिकारका विषयलाई आम नागरिक, सरोकारवाला निकाय तथा राज्यका सम्बन्धित निकायसम्म प्रभावकारी रूपमा पुर्याउँदै आएका छन्। साथै, नेपाल व्यापार संघको प्रेस सल्लाहकारका रूपमा संस्थाको गतिविधि र उद्देश्यलाई प्रवर्द्धन गर्न खेलेको भूमिकाको पनि उच्च मूल्याङ्कन गरिएको छ।
सम्मान–पत्रमा निजी क्षेत्रका समस्या, चुनौती र सम्भावनालाई सञ्चारमाध्यममार्फत उजागर गर्दै व्यवसायिक वातावरण सुधारमा पुर्याएको योगदान प्रशंसनीय रहेको उल्लेख गरिएको छ। आगामी दिनमा पनि निष्पक्ष, व्यावसायिक र जिम्मेवार पत्रकारितालाई निरन्तरता दिने विश्वाससहित मिश्रलाई सम्मान गरिएको संघले जनाएको छ।
नेपाल व्यापार संघले व्यापार तथा उद्योग क्षेत्रको प्रवर्द्धन, व्यवसायीहरूको हकहित संरक्षण र निजी क्षेत्रका साझा मुद्दालाई नीतिगत तहसम्म पुर्याउने उद्देश्यका साथ विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ।
पत्रकार मिश्र लामो समयदेखि नेपाल व्यापार संघको प्रेस सल्लाहकारको भूमिकामा समेत हुनुहुन्छ ।



