त्रिपुरेश्वरमा आत्मदाह प्रयास गरेका गणेश नेपालीको उपचारका क्रममा निधन

काठमाडौं । काठमाडौंको त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि आफूलाई आगो लगाउने प्रयास गरेका मुगुको सोरु गाउँपालिका–१ का २५ वर्षीय गणेश नेपालीको उपचारका क्रममा निधन भएको छ।

काठमाडौं प्रहरी परिसरका प्रवक्ता पवन भट्टराईले उपचारका क्रममा नेपालीको मृत्यु भएको जानकारी दिएका छन्। यद्यपि, वीर अस्पताल प्रशासनले यसबारे औपचारिक जानकारी सार्वजनिक गरिसकेको छैन।

वीर अस्पतालका प्लास्टिक सर्जरी विभागका संयोजक डा. पियूष दाहालका अनुसार उनलाई अस्पताल ल्याइएलगत्तै श्वासप्रश्वासमा समस्या देखिएकाले आकस्मिक उपचार सुरु गरिएको थियो। उपचारका क्रममा भेन्टिलेटरमा राखेर विशेषज्ञ चिकित्सकको टोलीले उपचार गरेको थियो।

उपचारमा प्लास्टिक सर्जरी विभागका संयोजक डा. पियूष दाहालको नेतृत्वमा युनिट प्रमुख डा. अपार लामिछाने, क्रिटिकल केयर विशेषज्ञ डा. निर्माण ज्ञवाली, एनेस्थेटिस्ट जयप्रकाश ठाकुर, प्रा. डा. रविराम श्रेष्ठ तथा नर्सिङ सेवाका स्वास्थ्यकर्मीसहित २१ सदस्यीय टोली संलग्न रहेको अस्पतालले जनाएको छ।

नेपालीले बिहीबार त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि आफूलाई आगो लगाउने प्रयास गरेका थिए। घटनापछि तत्काल उद्धार गरी वीर अस्पतालमा भर्ना गरिएको थियो। घटनाको कारणबारे सम्बन्धित निकायले थप अनुसन्धान गरिरहेको छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्