बैतडी । बैतडीको पाटन नगरपालिका–९ गैराखानस्थित दशरथचन्द राजमार्गमा शुक्रबार भएको यात्रुबाहक बस दुर्घटनामा २३ जना घाइते भएका छन्। नेपाल प्रहरीका अनुसार धनगढीबाट बैतडीतर्फ आउँदै गरेको सुप्रप्र ०१-००१ ख ३९६३ नम्बरको बस शुक्रबार दिउँसो करिब ३:३० बजे सडकबाट करिब १०० मिटर तल खस्दा दुर्घटना भएको हो।
दुर्घटनापछि प्रहरी चौकी बैतडी र इलाका प्रहरी कार्यालय पाटनबाट खटिएको प्रहरी टोलीले स्थानीयवासीको सहयोगमा उद्धार कार्य गरेको थियो। घाइतेमध्ये गम्भीर अवस्थाका सात जनालाई थप उपचारका लागि धनगढी रिफर गरिएको छ भने अन्य घाइतेहरूको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
धनगढी रिफर गरिएका घाइतेहरूमा बैतडीको पाटन नगरपालिका-६ का ३१ वर्षीय दिपक विक, ४३ वर्षीय जनकप्रसाद पन्त, ३१ वर्षीय महोन पन्त, ३५ वर्षीया धना पहरी, पाटन नगरपालिका-८ का ४६ वर्षीय रामदत्त पाण्डे, पाटन नगरपालिका-६ का ११ वर्षीय सिद्धार्थ भण्डारी तथा पाटन नगरपालिका-३ का ३१ वर्षीय बस चालक दिनेश भाट रहेका छन्। दुर्घटनाको कारण खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको छ।




