काठमाडौं – मनसुन देशभर सक्रिय भएसँगै अधिकांश क्षेत्रमा वर्षा भइरहेको छ। जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले वर्षाको क्रम भोलिसम्म जारी रहने जनाएको छ। महाशाखाका अनुसार असार ५ गते पूर्वी नेपालबाट प्रवेश गरेको मनसुन अब कर्णाली र सुदूरपश्चिम प्रदेशका सम्पूर्ण भूभागमा समेत फैलिएको छ। यसअघि गण्डकी र लुम्बिनी प्रदेशका अधिकांश क्षेत्रमा सीमित रहेको मनसुनी प्रणाली अहिले देशभर सक्रिय बनेको हो।
गएराति काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा वर्षा भएको थियो। विशेषगरी कास्की, लमजुङलगायत मध्य पहाडी क्षेत्रमा भारी वर्षा मापन गरिएको छ। बिहान पनि बागमती, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थान तथा कोशी प्रदेशका एक–दुई स्थानमा मध्यम वर्षा भएको महाशाखाले जनाएको छ।
आज देशभर सामान्यदेखि पूर्ण बदली रहने तथा कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षा हुने सम्भावना रहेको छ। रातिको समयमा हिमाली तथा पहाडी क्षेत्रका केही स्थान र तराईका थोरै स्थानमा मेघगर्जन, चट्याङसहित मध्यम वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ।
भोलि पनि कोशी र बागमती प्रदेशसहित देशका अधिकांश पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना रहेकाले सतर्कता अपनाउन आग्रह गरिएको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले निरन्तर वर्षाका कारण बाढी, पहिरो, डुबान, गेग्र्यान बहाव तथा सडक अवरोधको जोखिम बढ्न सक्ने भएकाले जोखिमयुक्त क्षेत्रमा आवश्यक सावधानी अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ।




